समाचार

सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको उपाध्यायको आरोप



बुटवल, १२ फागुन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायले दातृ निकायको प्रेसरका कारण सरकारले नीजि क्षेत्रलाई चेपुवामा राखेको आरोप लगाउनु भएको छ । उहाँले अन्तर्राष्ट्रिय दातृ निकायहरुले दिने अनुदान र ऋण सहयोगले मात्रै मुलुकमा समृद्धि हासिल हुन नसक्ने बताउँदै मुलुकको आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभयो ।बुटवल उद्योग बाणिज्य संघको ६७ औं स्थापना दिवसको अवसरमा आईतबार बुटवलमा आयोजना गरिएको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सरकारले अन्तर्राष्ट्रिय दातृ निकायलाई खुसी बनाउनकै लागि करको दरमा बृद्धि गरेको र त्यसैको चपेटामा उद्योग व्यबसायी परेको आरोप लगाउनु भयो ।राजश्व बढाउने नाममा नीजि क्षेत्रलाई चेपुवामा पारेर असुली गर्दा उद्योगी व्यवसायी धरासायी हुँदै गएको बताउँदै उहाँले उद्योगी व्यवसायीको मन जितेर अगाडी बढ्न सरकारलाई आग्रह गर्नुभयो । नेपालमा औद्योगिक उत्पादनका लागि प्रयाप्त सम्भावना रहेको बताउँदै लगानी गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

                    भारतका लागि पूर्व राजदुत समेत रहनु भएका पूर्वमन्त्री उपाध्यायले नेपाल भारतकावीच खुला सिमानाका कारण नेपालको मात्रै नभएर भारतकालागि समेत उत्तिकै समस्याको बिषय भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पानीको प्रवन्ध गर्न नसक्दा वरदान बन्न सक्ने पानीका स्रोतहरु अभिषापका रुपमा रहेको औंल्याउनु भयो । भारतसंगका दुईपक्षीय समस्या समाधानका लागि सरकारले कुटनीतिक चातुर्यता प्रस्तुत गर्नुपर्ने बताउँदै उहाँले सिमा क्षेत्रमा कस्टम पोईन्ट निर्माणको काम चाँडो गर्नुपर्ने भनाई राख्नुभयो ।त्यस अवसरमा संघका अध्यक्ष खिमबहादुर हमालले संघको स्थापनाकालदेखि नै यस क्षेत्रको बिकासमा योगदान गर्दै आएको स्मरण गर्दै संघकै पहलमा बुटवल बुहुमुखी क्याम्पसको बिज्ञान भवन निर्माण, लुम्बिनी बाणिज्य क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना, लुम्विनी प्रादेशिक अस्पतालमा प्रसुती कक्ष तथा क्याविन निर्माण, सिद्धार्थ बाल तथा महिला आस्पताल (आम्दा) लगायतको स्थापनामा बुटवल उद्योग बाणिज्य संघको योगदान रहेको जानकारी गराउनु भयो । अध्यक्ष हमालले यस क्षेत्रको बिकासका लागि साझेदारी गर्न संघ तयार रहेको समेत जानकारी गराउनु भयो ।

                    त्यस अवसरमा संघका पूर्व अध्यक्षहरु हिराप्रसाद श्रेष्ठ, नवराज श्रेष्ठ, ज्ञानेन्द्र कसजु, वरिष्ठ उपाध्यक्ष उज्जवल कसजु, कार्यसमिति सदस्यहरु नरिश्वर पौडेल, मञ्जु भुसाल, कपडा बस्तुगत समितिका सभापति त्रिबिक्रम ह्योजु लगायतले चोरी पैठारीका कारण स्वदेशी उद्योगी व्यवसायीको व्यवसाय समस्यामा परेको बताउँदै सिमामा कडाई गर्न सरकारसंग आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन संघका प्रमुख कार्यकारी अधिकृत मदनकुमार कार्कीले गर्नुभएको थियो ।संघको स्थापना दिवसको अवसरमा गत शुक्रबार रक्तदान, शनिबार आम्दा अस्पतालका बिरामीलाई फलफूल तथा डाईपर वितरण गरिएको थियो भने शनिबार साँझ दीपावली गरिएको थियो । स्थापना दिवसको मुल समारोहमा स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा संयोजकहरु, सहयोग गर्ने बस्तुगत समितिका सभापतिहरुलाई समेत सम्मान गरिएको कार्यक्रम संयोजक प्रकाशकुमार श्रेष्ठले जानकारी गराउनु भयो ।

प्रकाशित : १२ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६