समाचार

नेपालकै पहिलो ‘सिकेलसेल ल्याब’ कहाँ स्थापना हुँदैछ ?



बाँके १३ फागुन । थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ । कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको रु तीन करोड ३१ लाख १० हजार बजेटमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ । सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो ।यस प्रकारको सुविधा युक्त ल्याव काठमाण्डौ भन्दा वाहिर स्थापना हुन लागेको  पहिलो हो ।  

        गत वर्षदेखि नै ल्याब स्थापनाका लागि कसरत गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप रु एक करोड १० लाख बजेटसमेत प्राप्त गरेको छ । नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा रु एक करोड १० लाख बजेट उपलब्ध गराएको हो । उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयले यसै आर्थिक वर्षका लागि बजेट उपलब्ध गराएको छ, केही सयमभित्रै ल्याब स्थापनाको काम शुरु हुन्छ ।” थारू समुदायको बाहुल्य रहेको कोहलपुरमा सिकलसेल जाँचको ल्याब स्थापना भएसँगै रोग नियन्त्रणमा सघाउ पुग्ने विश्वास गरिएको उपप्रमुख थारूले बताउनुभयो ।

        थारू जातिमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलेसेल एनिमिया सबै समुदायमा देखिएको भए पनि थारू समुदायमा बढी छ । अझ थारू समुदायमा बिटा थालेसिमियाबाट धेरै व्यक्ति आक्रान्त भएका छन् । रोगका कारणबारे थाहा नहुँदा भ्रममा परी झारफुक, गुरुबा तथा अन्य चिकित्सकीय उपचारमा रुमल्लिएर कतिले ज्यानसमेत गुमाउनु परेको छ । वंशाणुगतरूपमा लाग्ने यी सबै रोग विवाहपूर्व केही सावधानी अपनाउन सकेमा पूर्णरूपमा निर्मूल गर्न सकिन्छ । थारू समुदायमा वंशाणुगतरूपमा देखिएको सिकलसेल एनिमियाको जाँच गर्नका लागि कोहलपुरमा ल्याब स्थापना हुने भएपछि कर्णालीसहित दाङदेखि बाँके र बर्दियासम्मका नागरिकले सेवा पाउनेछन् ।

        नगरपालिकाले गत वर्ष कोहलपुुर नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत थारू समुदायका एक हजार ३५२ जना बालबालिकाको रगतको नमूना जाँच गरेको थियो । जाँचका क्रममा १३२ जना बालबालिकामा सिकलसेल एनिमिया रोगको लक्षण पाइएको उपप्रमुख थारूले जानकारी दिनुभयो ।

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६