ब्रेकिंग न्युज

कोरोनाको जोखिमबाट जोगिन भ्रमण वर्ष स्थगित गर्ने देखि सातै प्रदेशमा स्वास्थ्य टोली : सरकार



कपिलबस्तु १९ फागुन ।  कोभिड १९ अर्थात कोरोना भाइरसको जोखिम बढ्दै गएपछि नेपाल सरकारले पूर्व तयारी तीव्र पारेको छ । मिर्गौला प्रत्यारोपणको तयारीमा लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सरकारले कोरोनाको सम्भावित जोखिमबाट बच्न विभिन्न तयारी थालेको हो । आइतबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले सञ्चारमाध्यमलाई जानकारी दिएका हुन । 

नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष सान्दर्भिक नहुने भएकाले यसलाई स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

‘सगरमाथा संवाद’ पनि स्थगित गर्ने तयारी ।।

                       सरकारले पहिलोपटक अन्तर्रा्ष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल ‘सगरमाथा संवाद’ पनि स्थगित गर्ने तयारी गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथा संवाद स्थगित गर्नेबारे छलफल भएको हो । परराष्ट्र मन्त्रालयको आयोजनामा आउँदो चैत २० देखि २२ सम्म सगरमाथा संवाद गर्ने तयारी थियो । यो कार्यक्रममा करिब १ सय ५० विदेशीसहित २ सय ५० प्रतिनिधि सहभागी हुने बताइएको थियो । आइतबारको मन्त्रिपरिषद् बैठकमा अहिलेलाई अरु अन्तर्रा्ष्ट्रिय कार्यक्रम पनि नगर्नेबारे कुरा भएको छ । शनिबार मात्रै सरकारले भ्रमण वर्षको क्रममा विदेशमा हुने प्रवद्र्धनात्मक कार्यक्रमहरु स्थगित गर्ने घोषणा गरेको थियो । कोरोनाबाट उच्च सतर्कता अपनाउन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति पनि गठन भएको थियो ।

ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान ।।

                सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न पनी सबैसँग आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो । मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताउनुभयो । 

अन्तर्रा्ष्ट्रिय उडान कटौतीको तयारी ।

             सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । आइतबारदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा  यात्रुको स्वास्थ्य जाँच पनि थालिएको छ । आइतबार पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ढकालले छिमेकी देशहरुमा अन्तर्रा्ष्ट्रिय उडान कटौती गर्न थालिएको र केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेको बताउनुभएको हो ।’

विमानस्थलमा स्वास्थ्य जाँच ।।

                 कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै आइतबारदेखि त्रिभुवन विमानस्थल भएर आवतजावत गर्ने सबैको स्वास्थ्य जाँच सुरु गरिएको छ । विदेशबाट आउने पर्यटक, नेपाली तथा तेस्रो देश जाने ट्रान्जिटका यात्रु सबैले स्वास्थ्य जाँच गर्नुपर्ने व्यवस्था गरिएको हो । त्यस्तै जहाज काठमाण्डौ अवतरणका क्रममा अनबोर्डमा रहेका यात्रु तथा आगमन र प्रस्थान कक्षमा अंग्रेजी, चिनियाँ र नेपाली भाषामा जानकारीमूलक सूचना प्रवाह सुरु गरिएको छ । आइतबारदेखि नै विमानस्थलमा यात्र्को शरीरको तापक्रम जाँच्ने ‘थर्मल स्क्यानर’ बाहेक ‘लिक्विड स्यानीटाइजर एजेन्ट स्प्रे’ पनि प्रयोगमा ल्याइएको छ ।

सातै प्रदेशमा स्वास्थ्य टोली ।।

                   सरकारले कोरोना सङ्क्रमण रोक्न सातै प्रदेशमा आवश्यक सामग्रीसहित प्रदेश सरकारसँग समन्वय गरी त्यहाँ रहेका नाकाहरुमा आवश्यक निगरानीको व्यवस्था मिलाउन स्वास्थ्य टोली परिचालन गरेको छ । विश्वमा हाल फैलिएको कोरोना सङ्क्रमणको रोकथाम, शीघ्र पहिचान, निगरानी तथा व्यवस्थापन गर्न सहज हुने उद्देश्यले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार प्रोटोकल तथा कार्ययोजना तयार गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैगरी कोरोना सङ्क्रमण रोक्न तातोपानी र रसुवागढी नाकामा चिकित्सक खटाइएको छ भने कोरोना व्यवस्थापनका लागि आवश्यक सामग्रीको मौज्दात थप गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताउनुभयो । काठमाण्डौ उपत्यकाका सबै अस्पतालसँग विभिन्न चरणमा पूर्व तयारीका लागि बैठक तथा छलफल गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६