समाचार

तिलोत्तमाः आफैले प्राविधिक कलेज सञ्चालन गर्ने ,बहुमुखी कलेजको रुपमा विस्तार गरीने



तिलोत्तमा १९ फागुन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक कलेज सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा स्नातक तहमा सूचना प्रविधिसँग सम्बन्धित बिएस्सी सिएसआईटीको अध्यापन हुनेगरी नगरपालिकाले कलेज सञ्चालन गर्न थालेको हो । कलेजको सम्बन्धनका लागि नगरपालिकाले त्रिभुवन विश्वविद्यालयमा फाइल पेश गरिसकेको छ ।सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन हुने नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । 

        प्राविधिक शिक्षामा सबैको पहुँच पु¥याउने गरी नगरपालिका आफैंले कलेज सञ्चालन गर्न थालेको हो । समयक्रमसँगै कलेजलाई बहुमुखी कलेजको रुपमा विस्तार गरी अन्य संकायका कक्षा समेत सञ्चालन गर्ने नगरपालिकाको तयारी छ ।नगरपालिकाले कलेज भवन वडा नं. १४ को सुपौलीमा निर्माण गर्न थालेको छ । साविक नर्मदेश्वर प्राविको जग्गामा कलेज भवन बनाउन थालिएको हो । सोमबार आयोजित एक कार्यक्रमबीच कलेज भवनको नगर प्रमुख बासुदेव घिमिरेले शिलन्यास गर्नुभयो ।

        भवनको लागत ईष्टिमेट ५ करोड १७ लाख रहेकोमा कालिगण्डकी निर्माण कम्पनीले ३ करोड ७७ लाखमा ठेक्का पाएको नगरपालिकाका योजना प्रमुख प्रदिप वनले जानकारी दिनुभयो । एल आकारमा तीन तलमा निर्माण हुने भवनमा २४ कोठा रहनेगरी भवन डिजाइन गरिएको छ ।एक वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छ । साविक नर्मदेश्वर प्राविको समेत भौतिक संरचना भएकोले सम्बन्धन पाएमा आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने नगरपालिकाको भनाइ छ ।कलेज निर्माणमा नगरपालिकाको दुई करोड र प्रदेश सरकारको समपुरकबाट दुई करोडको व्यवस्था मिलाइएको छ ।

        नगर प्रमुख घिमिरेले कलेजलाई नगरको गौरवको योजनाको रुपमा लिएको बताउनुभयो । तोकिएको समयमा गुणस्तरीय काम गराउन स्थानीय बासिन्दाको निगरानी समेत महत्वपूर्ण हुने बताउँदै नगर प्रमुख घिमिरेले कलेज सञ्चानले नगरकैं मुहार फेर्ने विश्वास व्यक्त गर्नुभयो ।शिलन्यास कार्यक्रममा उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमाले शिक्षामा विशेष महत्व दिएको उल्लेख गर्दै कलेज सञ्चालनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई फाइदा पुग्ने बताउनुभयो । प्राविधिक शिक्षा तुलनात्मक रुपमा महंगो हुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको त्यसमा पहुँच पुग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले आफैंले कलेज सञ्चालन गर्न थालेको हो ।नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा प्रदेश सदस्य अनुप बराल, वडाध्यक्ष सोहन प्रसाद चौधरीलगायतले कलेजको महत्वको बारेमा प्रकाश पारेका थिए ।  

प्रकाशित : १९ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६