समाचार

च्याउको सुकुटी, अचार र धुलोको माग यसकारण बढ्यो



दाङ, २८ फागुन ।  पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आउनुभएकी धनमाया बुढाले अहिले व्यावसायिकरूपमा च्याउ खेती गरिरहनुभएको छ । च्याउ खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएपछि उहाँ आकर्षित हुनुभएको हो । काँचो च्याउ बिक्री नहुने समयमा अचार, सुकुटी र च्याउको धुलो बनाउने गरेको उहाँले बताउनुभयो ।  “लामो समयसम्म राख्न सकिने भएकाले अहिले बजारमा धुलो, सुकुटी र अचारको माग धेरै नै छ, माग धान्नै सकिएको छैन”, बुढाले भन्नुभयो । च्याउको बजार देखेपछि बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका–१६ झिगौरामा ‘जलजला च्याउ प्रशोधन केन्द्र’ समेत स्थापना गर्नुभएको छ । रु एक करोड सात लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री गर्ने गरिएको छ । “च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ, च्याउका विभिन्न परिकार बनाएर बिक्री गर्दा अझै फाइदा हुन्छ”, उहाँले भन्नुभयो । बजारमा च्याउको माग बढ्दै गएको छ । 
उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । घरमा खानका लागि बनाइएको च्याउ कहिलेकाहीँ बिक्री गर्दा ग्राहक नियमितरूपमा सोध्न आउने गरेपछि व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । “च्याउको अचार र सुकुटी बजारको मागअनुसार पु¥याउन सकेका छैनौँ”, बुढाले भन्नुभयो । व्यवसायमा फाइदा देखेपछि बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लग्नुभएको छ । 
घोराही–१४ की कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा क्रियाशील रहनुभएको छ । च्याउको बजार राम्रो देखेपछि उहाँ पनि च्याउ खेतीतर्फ आकर्षित हुनुभएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री गरिरहनुभएको छ  । “गत वर्ष चार सय किलो च्याउ बिक्री ग¥यौँ, च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ”, उहाँले भन्नुभयो । अचार र सुकुटी खरिद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उहाँले सामूहिकरूपमा रु सात लाखको लगानीमा उक्त व्यवसाय शुरु गर्नुभएको हो । दाङमा उत्पादन भएको च्याउ रुकुम, रोल्पा, प्यूठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । 
कृषि ज्ञान केन्द्र दाङका शाखा अधिकृत भरतमणि पोखे्रलका अनुसार जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको छ । “च्याउको बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौ” पोखरेलले भन्नुभयो । जिल्लामा रहेका स्थानीय तहले पनि च्याउ खेतीका लागि तालीम तथा बीउ निःशुल्क वितरण गरेका कारण कतै एकल त कतै सामूहिक च्याउ खेती भइरहेको उहाँले बताउनुभयो । जिल्लामा अधिकांश कृषकले दूधे च्याउ, गोब्रे र सीताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको कृषि ज्ञान केन्द्र दाङका अधिकृत पोख्रेलले जानकारी दिनुभयो । घोराहीमा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् । रासस

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६