समाचार

कोभिड–१९ सचेतना : नमस्कार गरौँ, सङ्क्रमण हुनबाट बचौँ



दमौली, ३० फागुन । कोभिड–१९ को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन् ।  कोरोना भाइरस श्वासप्रश्वास, हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग हुन स्थानीय तहले आह्वान गरेको छ । शुक्लागण्डकी नगरपालिकाको केही दिन अगाडि सम्पन्न छैठौँ नगरसभाले सो भाइरसबाट बच्न संयमित भई सतर्कता अपनाउन आग्रह गरेको नगरप्रमुख किसान गुरुङले जानकारी दिनुभयो । उहाँले नियमितरुपमा साबुनपानीले हात धुन, खोक्दा, हाच्छ्यु गर्दा नाक र मुख ढाक्न आह्वान गर्दै ज्वरो आउने, घाँटी दुख्ने तथा श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाम रहेको देवघाट गाउँपालिकाले सो भाइरसबाट बच्न सचेतना अपनाउन गाउँवासीलाई आग्रह गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिनुभयो । साथै गाउँपालिकाभित्र जात्रा, पर्व, मेला महोत्सव जस्ता कार्यक्रम नगर्न र त्यस्ता कार्यक्रममा सहभागी नहुन अनुरोध गरिएको उहाँले बताउनुभयो ।व्यास नगरपालिकाले भाइरसको जोखिमबाट बच्न ‘नमस्कार गरौँ’ अभियान सञ्चालन गरेको छ । हात मिलाउँदा भाइरसको सङ्क्रमण हुने सम्भावना भएकाले हात नमिलाई नमस्कार गर्ने परम्परा शुरुआत गर्न सचेतना जगाउने खालका कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । 

        नगरपालिकाले भीडभाडयुक्त स्थानमा नजान, रुघाखोकी लागेमा माक्सको प्रयोग गर्न, साबुनपानीले हात धुनसमेत नगरवासीमा आग्रह गरेको छ । जिल्लाका म्याग्दे, आँबुखैरेनी, ऋषिङ, बन्दीपुर, घिरिङ गाउँपालिका, भीमाद र भानु नगरपालिकाले पालिकाभित्र सो भाइरसबाट बच्न सतर्कता अपनाउने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।  कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउनु नै उत्तम विकल्प रहेको दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले बताउनुभयो । “व्यक्तिगत सरसफाइ र आचरणमा ध्यान दिन सकिए यसबाट बच्न सकिन्छ”, डा पौडेलले भन्नुभयो । (रासस) 

प्रकाशित : ३० फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६