एजेन्सी, १ चैत । कोरोना भाइरसको कहरकसँगै संक्रमण रोकथामका लागि अमेरिकाले अनिश्चितकालीन संकटकाल घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संकटकाल घोषणा गरिएको जानकारी दिएका हुन् । तर, संकटकाल कति दिनसम्म लागू हुन्छ भन्ने कुनै उल्लेख छैन । विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरीसकेको छ । संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्ने बताइएको छ । अमेरिकाले युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ । यो रोक १४ तारिख शुक्रबार मध्यरातिबाट लागू भएको छ । अमेरिकी अधिकारीहरुले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरेका छन् । अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनीहरुले सुझाव दिएका छन् ।
१ चैत्र २०७६, शनिबार
प्रतिक्रिया