समाचार

ओलीको बोलीको प्रभाव : देश सेमी लकडाउनमा ,देशवासी होम क्वारेण्टाइनमा



कपिलवस्तु ८ चैत्र । सरकारका शक्तिशाली प्रधानमन्त्री केपि शर्मा ओलीले मृगौला प्रत्यारोपण पछि देशवासीमा पहिलो संबोधन गर्दै कोरोना विरुद्धको सचेतना र सावधानीको महा अभियानकको शुभारम्भ गर्नु भएको छ । यो अभियान अन्तर्गत राष्ट्रसेमी लकडाउनमा गएको छ भने देशवासी स्वतः होम क्वारेण्टाइमा परेका छन् । यसप्रकारको घोषणा राष्ट्र र देशवासीका लागि अपरिहार्य बनेपछि संबोधन गरिएको प्रधानमन्त्री ओलीले प्रष्टाउनु भएको हो । 

१२ दिन बन्द रहने 

            सरकारले चैत ९ गतेदेखि देशभरिबाट सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू १२ दिनका लागि बन्द गरिदिएको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिने बताउनु भयो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले राजपत्रमा भएका १९ बाहेकका सबै सेवा ९ गतेदेखि बन्द हुने जानकारी दिनु भयो । नेपाल  सबै अन्तर्रािष्ट्रय उडान ९ गतेदेखि १८ गतेसम्मका लागि स्थगित गरेको छ । त्यस्तै, भारतसँगको सीमा नाकामा अनिवार्य स्वास्थ्यजाँच र देशैभर चैत १० गतेदेखि लागू हुनेगरी लामो दूरीका सवारी बन्द हुने भएका छन् । 

सार्कस्तरीय कोषमा १० करोड 

            भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा कोरोना भाइरस नियन्त्रणका लागि स्थापना भएको सार्क संयुक्त कोषमा नेपालले १० करोड रुपैयाँ जम्मा गर्ने प्रधानमन्त्री ओलीले बताउनु भएको छ  । यसअघि सार्कस्तरीय भिडियो कन्फ्रेन्समा मोदीले सार्क संयुक्त कोष स्थापनाका लागि गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीसहित अन्य देशका प्रतिनिधिले पनि स्विकार गरेका थिए । मोदीले यस कोषमा  भारत सरकारले १ करोड अमेरिकी डलर जम्मा गर्ने घोषणा गर्दा  ओलीले पनि नेपालले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । विश्वभर कोरोनाको महामारी फैलिसक्दा पनि नेपालमा संक्रमण नफैलनु सुखद पक्ष रहेको ओलीले बताउनु भयो  । ‘तर हामी  जोखिमबाट ढुक्क हुने अवस्था छैन । मैले सधैं नागरिकको स्वास्थ्य र सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छु । त्यसैले स्पष्ट योजना बनाएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु,’ उहाँले भन्नु भयो  । प्रधानमन्त्री ओलीले कोरोनाको संक्रमण रोकथामका लागि सरकारी संयन्त्र सक्रिय रहेको बताउनु भयो  । 

तयारीका चरण के के थिए ?

            प्रधानमन्त्री ओलीले  यस अवधिमा आफ्नो नेतृत्वमा ५ वटा बैठक सम्पन्न भएको बताउनु भयो  । उपप्राधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा समस्या समाधानका लागि नीतिगत निर्णय गर्न संयन्त्र गठन गरिएको पनि उहाँले जानकारी दिनु भयो  ।‘यी संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहमार्फत समन्वय गरी एकिकृत ढंगबाट रोकथाम र सतर्कताको अभियान बढाउँदै आएको छ,’ उहाँले भन्नु भयो  , ‘महामारीसँग जुध्न सजिलो छैन । हामीले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ ।’

ओलीको बोलीको जोड 

            सम्भावित संक्रमणलाई परास्त गर्न आनीबानी र दैनिकी परिवर्तन गर्नुको विकल्प नरहेको ओलीले जोड दिएर बताउनु भयो  । ‘सरसफाईमा ध्यान दिनुस, पटक–पटक हात धुनुस, भीडभाडबाट टाढा रहनुस, अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस चिकित्सक विज्ञ र प्राविधिको सल्लाह पालना गर्नुस, सावधान र धैर्यवान् रहनुस् तर आतंकित नहुनुहोस,’ प्रधानमन्त्रीले भन्नु भयो । प्रधानमन्त्री ओलीले संक्रमित मुलुकबाट आएका सबैले कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्ने नियम पालना गर्नुपर्ने जनाउनु भयो  । उहाँले  जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न सबैसँग आग्रह गर्नु भयो  । 

प्रोत्साहनकालागि थप सुविधा  

            सरकारले देशभरका अस्पतालबाट सेवा प्रदान गर्न, औषधी व्यवस्थापन गर्न, कोरोनाविरुद्ध सक्रिय रुपमा संलग्न रहने चिकित्सक, सुरक्षाकर्मीलगायत जनशक्तीलाई सेवासुविधा र प्रोत्साहन उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने उहाँले बताउनु  भयो । निजी क्षेत्रको समन्वयमा खाद्यान्नलगायत अत्यावश्यक सामाग्री उपलब्ध गराउन सरकार सक्रिय रहेको ओलीको भनाइ छ ।


कारवाहीमा निर्ममता 

        खाद्यवस्तुमा मिसावट गर्ने,  कालोबजारी गर्ने लगायतलाई प्रचलित कानूनअनुसार कारबाही गरिने चेतावनी प्रधानमन्त्रीले दिनु भयो ।विश्वव्यापी रुपमा महामारी फैलिएकाले यसबाट अर्थतन्त्रमा पर्नसक्ने प्रभावबारे अर्थ मन्त्रालयले सुक्ष्म अनुसन्धान गरिरहेको प्रधानमन्त्रीले बताउनु भयो  । ‘अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै विशेष कार्यक्रम ल्याउने छ,’ उहाँले भन्नु भयो । सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

लामोदुरीका यातायात बन्द 

             चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । मानिसहरुको भीडभाड हुने स्थान, सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६