प्रेसपाटी डेक्स, १९ कात्तिक
कपिलवस्तुको यशोधरा गाउँपालिकाका कर्मचारीहरूले दशैँमा समेत तलब पाउन नसकेको अवस्थामा तिहारमा भने तलब पाउने भएका छन्। गाउँपालिकामा नयाँ लेखा अधिकृतको व्यवस्था भएसँगै रोकिएको तलब निकासा प्रक्रिया अघि बढेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवका अनुसार लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नयाँ लेखा अधिकृतका रूपमा राजेन्द्रप्रसाद चौधरीलाई पठाएपछि तलब भुक्तानीको बाटो खुलेको हो।
लेखा अधिकृतको अभावमा खाता सञ्चालन तथा आर्थिक कारोबारसम्बन्धी प्रक्रिया प्रभावित हुँदा कर्मचारीले समयमै तलब पाउन सकेका थिएनन्। नयाँ लेखा अधिकृतको पदस्थापनपछि खाता सञ्चालनको प्रक्रिया पूरा गरी आजदेखि कर्मचारीहरूको बैंक खातामा तलब रकम निकासा गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिएका छन्।
दशैँ जस्तो महत्वपूर्ण चाडपर्वमा समेत पारिश्रमिक नपाउँदा आर्थिक तथा पारिवारिक व्यवस्थापनमा समस्या भोगेका कर्मचारीलाई तिहार अघि तलब उपलब्ध हुने भएपछि राहत मिल्ने अपेक्षा गरिएको छ।
स्थानीय तहमा आर्थिक प्रशासन सञ्चालनका लागि लेखा अधिकृतको भूमिका महत्वपूर्ण हुने भएकाले पदपूर्ति तथा जिम्मेवारी हस्तान्तरणमा हुने ढिलाइले सेवा प्रवाह र कर्मचारीको नियमित पारिश्रमिकमा समेत असर पर्न सक्ने यस घटनाले देखाएको छ।
कर्मचारीको पारिश्रमिक नियमित भुक्तानी गर्न आवश्यक प्रशासनिक तथा आर्थिक व्यवस्थापनलाई चुस्त बनाउनुपर्ने देखिएको छ। आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन लेखा प्रशासनलाई नियमित र प्रभावकारी बनाउनु संघ, प्रदेश सरकार र स्थानिय गाउँपालिकाको प्राथमिकताको विषय हुनुपर्नेछ ।









प्रतिक्रिया