खोज–अनुसन्धान

सामाजिक विकासमा बजेटको चाप , परेन सुशासन र वन क्षेत्र संरक्षण प्राथमिकतामा ?



लक्ष्मण प्रसाद बेल्बासे

कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजित कुल बजेटको ८१.११ प्रतिशत खर्च गरेको छ। नगरकार्यपालिकाको कार्यालयले उपलब्ध गराएको क्षेत्रगत बजेट तथा खर्च विवरण अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब २९ करोड ५३ लाख ९३ हजार ९९२ रुपैयाँ मध्ये १ अर्ब ५ करोड ६ लाख ९७ हजार ३२१ रुपैयाँ ३७ पैसा खर्च भएको छ। कुल बजेटको १८.८९ प्रतिशत अर्थात् २४ करोड ४६ लाख ९६ हजार ६७० रुपैयाँ ६३ पैसा खर्च हुन बाँकी रहेको देखिन्छ। नगरपालिकाका लेखा अधिकृत केशव गैरेका अनुसार बाँकी रकम मध्ये करिव १८ करोड ५० लाख रकम बाणगंगा नगरपालिकाको बैंक मौज्जात रहेको बताउनु भयो ।
नगरपालिकाको आर्थिक कारोबार सम्बन्धी वार्षिक अद्यावधिक विवरणले समग्र बजेट खर्चको अवस्था सन्तोषजनक देखाए पनि क्षेत्रगत रूपमा खर्चको प्रगति समान छैन। शिक्षा र स्वास्थ्यमा तुलनात्मक रूपमा उच्च खर्च भएको छ भने सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र, वन, ऊर्जा, भूमि व्यवस्था र लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा खर्चको प्रगति कमजोर देखिएको छ। यसले बजेट विनियोजन सँगै कार्यान्वयन क्षमता, योजनाको प्राथमिकता, सेवा प्रवाह र खर्चको प्रभावकारितामाथि थप विश्लेषण गर्नुपर्ने आवश्यकता देखाएको छ।
सामाजिक विकासमा सबैभन्दा बढी बजेट खर्च
क्षेत्रगत विवरण अनुसार सामाजिक विकासका लागि सबैभन्दा बढी ६१ करोड ६६ लाख ५९ हजार ६६२ रुपैयाँ विनियोजन गरिएको थियो। यसमध्ये ५४ करोड ५० लाख ९४ हजार ३७२ रुपैयाँ ६१ पैसा खर्च भएको छ। सामाजिक विकासतर्फको खर्च प्रगति ८८.३९ प्रतिशत पुगेको छ। कुल बजेटको सबैभन्दा ठूलो हिस्सा ओगटेको यस क्षेत्रमा देखिएको खर्च प्रगतिले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक सेवामा नगरपालिकाको उल्लेख्य वित्तीय परिचालन भएको संकेत गर्छ।
सामाजिक विकास अन्तर्गत शिक्षामा ४० करोड ४६ लाख ६१ हजार ४५४ रुपैयाँ विनियोजन भएकामा ३७ करोड ५ लाख ९१ हजार ८९२ रुपैयाँ १७ पैसा खर्च भएको छ। शिक्षा क्षेत्रको खर्च प्रगति ९१.५८ प्रतिशत छ। त्यसैगरी स्वास्थ्य क्षेत्रमा १३ करोड ७५ लाख २० हजार रुपैयाँ विनियोजन भएकोमा १२ करोड ५० लाख ३५ हजार ८१२ रुपैयाँ ६४ पैसा खर्च भएको छ। स्वास्थ्य क्षेत्रको खर्च प्रगति ९०.९२ प्रतिशत रहेको छ।
शिक्षा र स्वास्थ्यमा उच्च खर्च हुनुले यी क्षेत्रमा विनियोजित स्रोतको ठूलो हिस्सा परिचालन भएको देखाउँछ। यद्यपि खर्चको प्रतिशतले मात्र शैक्षिक गुणस्तर, स्वास्थ्य सेवाको पहुँच, नागरिकको सन्तुष्टि वा लगानीको प्रतिफल मापन गर्दैन। त्यसका लागि विद्यार्थीको सिकाइ उपलब्धि, स्वास्थ्य संस्थाको सेवा गुणस्तर, औषधि उपलब्धता र लक्षित समुदायले प्राप्त गरेको सुविधा जस्ता सूचकको समेत मूल्याङ्कन आवश्यक हुन्छ।
सामाजिक सुरक्षा तथा संरक्षणमा ८९ लाख ७८ हजार २४५ रुपैयाँ विनियोजन भएकामा ८१ लाख १० हजार ५३५ रुपैयाँ ८० पैसा खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ९०.३४ प्रतिशत छ। भाषा तथा संस्कृतितर्फ ८९ लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा ७४ लाख ३५ हजार २६६ रुपैयाँ खर्च भएको छ। युवा तथा खेलकुदमा ५३ लाख ८२ हजार ९७० रुपैयाँ विनियोजन भएकामा ४१ लाख १३ हजार ३५६ रुपैयाँ खर्च भएको छ।
तर, सामाजिक विकास अन्तर्गत नै लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा विनियोजित ४ करोड ११ लाख २६ हजार ९९३ रुपैया मध्ये २ करोड ३५ लाख ९८ हजार ३७९ रुपैयाँ मात्र खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ५७.३८ प्रतिशत छ। सामाजिक न्याय, महिला सशक्तीकरण, सीमान्तकृत समुदायको पहुँच र समावेशी विकाससँग जोडिएका कार्यक्रमको कार्यान्वयन अवस्थाबारे यसले थप समीक्षा गर्नुपर्ने देखाउँछ।
आर्थिक विकासमा ७४ प्रतिशत खर्च, वन क्षेत्रमा कमजोर प्रगति
नगरपालिकाले आर्थिक विकास क्षेत्रका लागि ८ करोड ८ लाख ४५ हजार रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये ६ करोड ७ लाख २४ हजार ४०४ रुपैयाँ ६० पैसा खर्च भएको छ। खर्च प्रगति ७४.३१ प्रतिशत रहेको छ।
आर्थिक विकास अन्तर्गत कृषि क्षेत्रमा ३ करोड ६ लाख ७५ हजार रुपैयाँ विनियोजन भएकोमा २ करोड ४८ लाख १६ हजार ६४८ रुपैयाँ २० पैसा खर्च भएको छ। कृषि क्षेत्रको खर्च प्रगति ८०.९ प्रतिशत छ। पशुपन्छी विकासमा १ करोड ५२ लाख ७० हजार रुपैयाँ विनियोजन भएकोमा १ करोड २२ लाख ९० हजार ७७५ रुपैयाँ ४० पैसा खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ८०.४८ प्रतिशत छ।
स्थानीय उत्पादन, रोजगारी र आयआर्जनसँग प्रत्यक्ष सम्बन्ध राख्ने कृषि तथा पशुपन्छी क्षेत्रमा ८० प्रतिशत भन्दा बढी खर्च हुनु सकारात्मक पक्ष हो। तर, खर्च भएको रकमबाट किसानको उत्पादन तथा उत्पादकत्वमा कति वृद्धि भयो, कृषि उपजको बजारीकरणमा कस्तो सुधार आयो र पशुपालनबाट किसानको आम्दानी कति बढ्यो भन्ने विषयलाई पनि परिणामका आधारमा मूल्याङ्कन गर्नुपर्छ।
उद्योग क्षेत्रमा विनियोजित ३५ लाख ५० हजार रुपैयाँमध्ये ३० लाख ५७ हजार ७६५ रुपैयाँ खर्च भएको छ। खर्च प्रगति ८६.१३ प्रतिशत छ। जलस्रोत तथा सिँचाइमा १ करोड ३७ लाख ७५ हजार रुपैयाँ विनियोजन भएकोमा १ करोड १९ लाख २६ हजार ११ रुपैयाँ खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ८६.५८ प्रतिशत रहेको छ।
यसको विपरीत, वन क्षेत्रमा विनियोजित ४० लाख रुपैयाँमध्ये ६ लाख ५० हजार २६७ रुपैयाँ मात्र खर्च भएको छ। खर्च प्रगति १६.२६ प्रतिशतमा सीमित छ। आर्थिक विकासअन्तर्गत सबैभन्दा कमजोर खर्च प्रगति यही क्षेत्रमा देखिएको छ। वन संरक्षण, सामुदायिक वनसँगको सहकार्य, जैविक विविधता संरक्षण, वनमा आधारित उद्यम तथा वातावरणीय व्यवस्थापनका कार्यक्रम बजेटमा समेटिएका भए पनि तिनको कार्यान्वयन अवस्थाबारे गम्भीर समीक्षा आवश्यक हुन्छ।
पर्यटन क्षेत्रमा विनियोजित ४२ लाख ७५ हजार रुपैयाँमध्ये २४ लाख ५२ हजार ५४२ रुपैयाँ खर्च भएको छ। खर्च प्रगति ५७.३७ प्रतिशत छ। सहकारी क्षेत्रमा ४६ लाख रुपैयाँ विनियोजन भएकोमा २८ लाख २१ हजार ७९५ रुपैयाँ खर्च भएको छ। यसको खर्च प्रगति ६१.३४ प्रतिशत रहेको छ। भूमि व्यवस्थातर्फ विनियोजित ४७ लाख रुपैयाँमध्ये २० लाख ५६ हजार ६०१ रुपैयाँ खर्च हुँदा प्रगति ४३.७६ प्रतिशतमा सीमित भएको छ।
यी तथ्याङ्कले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण मानिएका केही क्षेत्रमा विनियोजित बजेट पूर्ण रूपमा परिचालन हुन नसकेको देखाउँछन्। आगामी बजेटमा विनियोजनको औचित्य, कार्यक्रम कार्यान्वयनको तयारी, लाभग्राहीको पहिचान र नतिजामुखी खर्च प्रणालीलाई थप प्राथमिकता दिनुपर्ने देखिन्छ।

पूर्वाधार विकासमा ७४.१६ प्रतिशत खर्च
पूर्वाधार विकासका लागि नगरपालिकाले ४० करोड ५५ लाख ९१ हजार १८७ रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये ३० करोड ७ लाख ९२ हजार ४१९ रुपैयाँ खर्च भएको छ। खर्च प्रगति ७४.१६ प्रतिशत रहेको छ। कुल विनियोजनको तुलनामा पूर्वाधार क्षेत्रमा करिब १० करोड ४७ लाख ९८ हजार ७६८ रुपैयाँ खर्च हुन बाँकी रहेको छ।
पूर्वाधार विकास अन्तर्गत यातायात पूर्वाधारमा २२ करोड १० लाख ३६ हजार ४८९ रुपैयाँ विनियोजन भएकामा १६ करोड ८० लाख ६५ रुपैयाँ खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ७६.०१ प्रतिशत छ। भवन, आवास तथा सहरी विकासमा १६ करोड २७ लाख ३३ हजार ९७९ रुपैयाँ विनियोजन भएकामा ११ करोड ५३ लाख ८८ हजार ४५२ रुपैयाँ खर्च भएको छ। यसको खर्च प्रगति ७०.९१ प्रतिशत रहेको छ।
सञ्चार तथा सूचना प्रविधिमा ५७ लाख ५० हजार रुपैयाँ विनियोजन भएकामा ५० लाख ८१ हजार ६२४ रुपैयाँ खर्च भएको छ। खर्च प्रगति ८८.३८ प्रतिशत छ। सम्पदा पूर्वाधारमा १ करोड २१ लाख ७०१ रुपैयाँ विनियोजन भएकामा १ करोड ९ लाख ११ हजार ६४ रुपैयाँ खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ९०.१७ प्रतिशत रहेको छ।
विज्ञान तथा प्रविधिमा विनियोजित ७० हजार रुपैयाँ र पुनर्निर्माणमा विनियोजित ३ लाख रुपैयाँमध्ये क्रमशः शतप्रतिशत र ९७ प्रतिशत खर्च भएको छ। तर, यी क्षेत्रमा विनियोजित रकम तुलनात्मक रूपमा सानो भएकाले उच्च खर्च प्रतिशतलाई समग्र पूर्वाधार विकासको उपलब्धिका रूपमा मात्र व्याख्या गर्नु उपयुक्त हुँदैन।
ऊर्जा क्षेत्रमा भने ३६ लाख रुपैयाँ विनियोजन भएकामा १० लाख ५० हजार २१४ रुपैयाँ मात्र खर्च भएको छ। खर्च प्रगति २९.१७ प्रतिशत छ। पूर्वाधार विकासमा बजेटको ठूलो हिस्सा विनियोजन भए पनि यातायात, भवन र ऊर्जा क्षेत्रमा बाँकी रहेको रकमले योजना छनोट, खरिद प्रक्रिया, निर्माणको समयतालिका र कार्यान्वयन अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाउँछ।
सुशासन क्षेत्रमा ३१.८५ प्रतिशत मात्र खर्च
नगरपालिकाको बजेट खर्च विवरणमा सबैभन्दा ध्यान दिनुपर्ने पक्ष सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रको कमजोर प्रगति हो। यस क्षेत्रका लागि ६८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएकामा २१ लाख ८५ हजार ६२ रुपैयाँ ७२ पैसा मात्र खर्च भएको छ। खर्च प्रगति ३१.८५ प्रतिशत छ। विनियोजित रकम मध्ये ४६ लाख ७४ हजार ९३७ रुपैयाँ २८ पैसा खर्च हुन बाँकी रहेको छ।

सुशासन, पारदर्शिता, संस्थागत क्षमता, जवाफदेहिता र सेवा प्रवाहको सुधार स्थानीय सरकारको प्रभावकारितासँग प्रत्यक्ष जोडिएका विषय हुन्। त्यसैले यस क्षेत्रमा खर्च कम हुनुको कारण कार्यक्रम कार्यान्वयनमा ढिलाइ, योजनाको तयारी, प्रशासनिक क्षमता वा अन्य कुनै पक्षसँग सम्बन्धित छ भन्ने विषय स्पष्ट पारिनुपर्छ। उपलब्ध वित्तीय विवरणले खर्चको अवस्था देखाए पनि कम खर्च हुनुको वास्तविक कारण खुलाउँदैन।


कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १८ करोड ५४ लाख ३८ हजार १४३ रुपैयाँ विनियोजन भएकोमा १४ करोड २५ लाख ५३ हजार ६२ रुपैयाँ ४४ पैसा खर्च भएको छ। यस क्षेत्रको खर्च प्रगति ७६.८७ प्रतिशत रहेको छ। प्रशासनिक खर्च सार्वजनिक सेवा सञ्चालनका लागि आवश्यक भए पनि यसको प्रभावकारिता मूल्याङ्कन गर्दा खर्चको मात्रा मात्र नभई सेवा प्रवाहमा आएको सुधार, नागरिकले सेवा प्राप्त गर्न लागेको समय र प्रशासनिक कार्य सम्पादनलाई पनि आधार बनाउनुपर्ने नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ।
तथ्याङ्कको स्रोतः
बाणगंगा नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, बाणगंगा, कपिलवस्तु — आर्थिक वर्ष २०८२/०८३ को आर्थिक कारोबार सम्बन्धी आम्दानी तथा खर्चको वार्षिक अद्यावधिक विवरण।

प्रकाशित : २० कार्तिक २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६