अन्तर्राष्ट्रिय

संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमण तीव्र गतिमा



जेनेभा, १२ चैत । विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ । भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा कडाई गरेका छन् । मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ । कतिपय मुलुकमा कफ्र्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ । 

        इटालीको मिलानस्थित युनिक्रेडिट बैंकका प्रमुख अर्थशास्त्री एडोआर्डो क्याम्पानेल्लाले विश्वमै डरलाग्दो ठानिएको प्राणघातक कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने खतरा बढाएको बताउनुभयो । उहाँले अत्यावश्यक सेवा बाहेक सबै किसिमका व्यवसाय ठप्पप्रायः भएका छन् भने आपूर्ति शृंखला टुटेको छ भन्नुभयो । अमेरिकी शेयर बजारमा मंगलबार केही सुधार आएको छ । खासगरी अमेरिकी सिनेटले २ खर्ब अमेरिकी डलरको आर्थिक राहत प्याकेजमा सहमति जनाउने आशामा लगानीकर्ताहरु रहेका छन् । 

        कोरोनाभाइरसबाट मंगलबारसम्ममा विश्वका १९४ मुलुकका तीन लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । करिब २० हजार भन्दा बढीको ज्यान गइसकेको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताउनुभयो । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन् । के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भन्नुभयो, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ । त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।” 

अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकार्नु भएको छ । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भन्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि पूरै मुलुकभर २१ दिने लकडाउन घोषणा गर्नु भएको छ । 

        स्वास्थ्य क्षेत्रका विज्ञहरुले मे महिनाको मध्यसम्ममा भारतमा १० लाखभन्दा बढी मानिस संक्रमित हुने खतरा औंल्याएका छन् । यही कारण पनि भारत सरकारले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी सबै हवाई तथा रेलसेवा, व्यवसया र स्कुलहरु बन्द गरेको छ । 

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६