काठमाडौं, २० चैत । प्रधानमन्त्री के.पी. शर्मा ओलीको ठाडो आदेशपछि ओम्नी समूहसँगको सम्झौता रद्द भएको खुलासा भएको छ । सल्लाहकारहरुले चीनबाट स्वास्थ्य उपकरण खरिद गर्नका लागि भएको सम्झौताबारे गलत ब्रिफिङ गर्दै निर्णय सही भएको प्रधानमन्त्रीलाई बताए पनि सल्लाहकारको घेरा तोड्दै प्रधानमन्त्रीका अर्का विश्वासपात्रले स्वास्थ्य सामग्री खरिदमा ठूलो आर्थिक चलखेल भएको तथ्यसहित सविस्तार प्रधानमन्त्रीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले एक्सन लिएको स्रोतले बतायो ।
विशेष स्रोतका अनुसार ओम्नी समूहलाई नियमविपरित चीनबाट सामान ल्याउने जिम्मा दिलाउन प्रधानमन्त्रीका केही सल्लाहकारकै भूमिका रहेको थियो । पछि प्रधानमन्त्रीले विश्वासपात्रबाट यथार्थ जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई तत्काल सम्झौता रद्द गर्न प्रधानमन्त्रीले ठाडो आदेश दिनुभएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरिएको जानकारी गराएको थियो ।
साथै धरौटीवापत राखिएको ५ करोड रुपैयाँ जफत गरी समूहलाई कालोसूचीमा राखिएको छ । विभागले सम्झौता गर्दा बजारमूल्यभन्दा धेरै महङ्गोमा सामान ल्याएर भ्रष्टाचार गरेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको थियो ।
प्रतिक्रिया