डिलाराम भुसाल
कपिलवस्तु २७ असोज
कपिलवस्तुको बाणगंगा नगरपालिका–७ स्थित बड्गाई बजारलाई सुरक्षित, व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले बजार क्षेत्रमा उच्च गुणस्तरको सीसीटीभी क्यामेरा जडान गरिएको छ। चाडपर्वका बेला बजारमा हुने चोरी तथा अन्य आपराधिक घटनालाई नियन्त्रण गर्ने लक्ष्यसहित सीसीटीभी क्यामेरा जडान गरिएको हो।
बड्गाई बजार व्यवस्थापन समितिका अध्यक्ष केशवराज बेल्बासेको नेतृत्वमा बजारको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने प्रयासस्वरूप उक्त कार्य गरिएको हो। बजार क्षेत्रमा सुरक्षा निगरानी बढाउँदा चोरीलगायतका अवाञ्छित गतिविधि नियन्त्रण गर्न र स्थानीय व्यवसायी तथा उपभोक्तालाई सुरक्षित वातावरण उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बड्गाई बजारलाई व्यवस्थित र सुरक्षित बनाउने अभियान अन्तर्गत २०८२ सालमा दीपावली उत्सवको आयोजना गरी रु. १ लाख ५० हजार सङ्कलन गरिएको थियो। त्यसैगरी, क्षेत्रका सम्पूर्ण व्यवसायी, मेरिट सहकारी, अन्य सहकारी तथा सङ्घ संस्था, ग्लोबल बैंक, एनएमबी बैंक लगायत स्थानीय क्लबहरूको आर्थिक सहयोगमा करिब रु. २ लाख ५० हजार बराबरको लागतमा बजारलाई उज्यालो र सुरक्षित बनाउने कार्य सम्पन्न गरिएको जनाइएको छ।
बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान तथा उज्यालोको व्यवस्था गरिएसँगै व्यापारिक गतिविधिलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी चाडपर्वका समयमा बजारमा हुने भीडभाडलाई व्यवस्थित गर्न, चोरी तथा अन्य जोखिम न्यूनीकरण गर्न र सम्भावित घटनाको निगरानी तथा अनुसन्धानमा सीसीटीभी उपयोगी हुने अपेक्षा गरिएको स्थानियबासी प्रकाश भुसालको भनाई रहेको छ।
स्थानीय व्यवसायी, सहकारी, बैंक, सङ्घसंस्था र क्लबहरूको सहकार्यमा अघि बढाइएको यस पहलले बजार व्यवस्थापनमा सामूहिक सहभागिताको महत्व समेत उजागर गरेको स्थानियबासी काशिराम दमासेको भनाई रहेको छ। बजारलाई दीर्घकालीन रूपमा सुरक्षित र व्यवस्थित बनाउन सीसीटीभीको नियमित सञ्चालन, मर्मतसम्भार र प्रभावकारी निगरानीलाई निरन्तरता दिनुपर्ने स्थानियबासीको भनाई छ ।









प्रतिक्रिया