लक्ष्मण प्रसाद बेल्बासे
कपिलवस्तु २९ असोज
राजापानी सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण र दिगो व्यवस्थापनसँगै उत्पादन वृद्धि, स्थानीय रोजगारी सिर्जना, आयआर्जन प्रवद्र्धन तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै साधारण सभा गरेको छ। वनले आफ्नो वार्षिक साधारण सभाबाट आफ्ना प्राथमिकता लाई जोड दिदै पारित गरेको हो । अध्यक्ष सीतादेवि पौडेलद्धारा प्रस्तुत वार्षिक नीति कार्यक्रममा विशेष गरी सामुदायिक वनलाई काठ, दाउरा र वन पैदावारको स्रोतका रूपमा मात्र सीमित नराखी स्थानीय समुदायको जीविकोपार्जन, आर्थिक आत्मनिर्भरता र वातावरणीय सन्तुलनसँग जोड्ने लक्ष्य समूहले अघि सारेको स्पष्ट पारिएको छ । प्रस्तुत नीति तथा कार्यक्रमले मुलभुत रुपमा उत्पादन र रोजगारी, वृक्षारोपण र दिगो वन ब्यवस्थापन, सदस्यको जीविकोपार्जन जस्ता विषयमा जोड दिएको छ ।
उत्पादन र रोजगारी
सामुदायिक वनको दीर्घकालीन सफलता वन क्षेत्रको विस्तार वा हरियाली कायम राख्नमा मात्र निर्भर नभई वनको प्राकृतिक अवस्था सुरक्षित राख्दै त्यसबाट प्राप्त हुने लाभ स्थानीय उपभोक्तासम्म पु¥याउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही पक्षलाई ध्यानमा राख्दै राजापानी सामुदायिक वनले वन उद्यम, उत्पादनमूलक गतिविधि र रोजगारी सिर्जनालाई आफ्नो भावी कार्यक्रमसँग जोडेको सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा समूहले स्थानीय उपभोक्ताको आयआर्जन बढाउन युवा तथा नयाँ पुस्तालाई लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। यसबाट युवालाई स्थानीयस्तरमै रोजगारी र उद्यमशीलताका अवसर खोज्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। वनमा आधारित उद्यमलाई व्यावसायिक सीप, बजारको पहुँच र स्थानीय आवश्यकतासँग जोड्न सके सामुदायिक वन वातावरण संरक्षणसँगै आर्थिक विकासको आधार समेत बन्न सक्ने सामुदायिक बनकी अध्यक्ष सितादेवि पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा भनिएको छ ।
कार्यक्रमको सफलता योजना निर्माणमा मात्र सीमित नराखी कार्यान्वयन, नियमित अनुगमन र उपलब्धिको मूल्याङ्कनमा निर्भर हुनेछ। त्यसैले वन उद्यमबाट कति रोजगारी सिर्जना भयो, कति उपभोक्ता लाभान्वित भए र स्थानीय आयमा कस्तो परिवर्तन आयो भन्ने विषयलाई पनि समूहले प्राथमिकतामा राख्न आवश्यक रहेको वनको नीति नियम मस्यौदा उपसमिति संयोजक मित्रलाल शर्माको भनाई रहेको छ।
वृक्षारोपण र दिगो वन व्यवस्थापन
सभामा अध्यक्ष सीतादेवि पौडेलद्धारा प्रस्तुत प्रतिवेदनमा वनको दिगोपनका लागि रूखको संरक्षणसँगै नयाँ बिरुवा हुर्काउने, प्राकृतिक पुनरुत्पादनलाई प्रोत्साहन गर्ने र वन क्षेत्रको गुणस्तर कायम राख्ने कार्य महत्त्वपूर्ण हुने बताइएको छ । प्रतिवेदनमा राजापानी सामुदायिक वनले वृक्षारोपण तथा वन पुनरुत्पादन कार्यक्रम विस्तार गर्ने योजना अघि सारेको छ। यसले वनको दीर्घकालीन संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सहयोग पु¥याउने अपेक्षा गर्न सकिन्छ।

वन व्यवस्थापनका क्रममा वनको अवस्था अनुसार उपयुक्त प्रजातिको छनोट, बिरुवाको संरक्षण, डढेलो नियन्त्रण, चोरी कटानी रोकथाम तथा वन अतिक्रमणको निगरानीलाई समेत व्यवस्थित गर्नुपर्छ। वन क्षेत्रको वास्तविक अवस्था पहिचान गरी आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न सके संरक्षणका प्रयास थप प्रभावकारी बन्न सक्ने बनका निवर्तमान अध्यक्ष ढाकाराम अधिकारीको भनाई रहेको छ ।
जीविकोपार्जन
सभामा प्रस्तुत प्रतिवेदनमा सामुदायिक वनको मूल शक्ति स्थानीय उपभोक्ताको सहभागिता हो। वनबाट प्राप्त लाभ केही सीमित व्यक्तिमा केन्द्रित नभई महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदाय सम्म पुग्न सके मात्र सामुदायिक वनको अवधारणा सार्थक हुने प्रतिवेदनको जोड छ ।
प्रतिवेदनमा राजापानी सामुदायिक वनले लक्षित वर्गको क्षमता विकास र जीविकोपार्जन सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। यस्ता कार्यक्रमले सीप विकास, स्वरोजगार तथा आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पु¥याउन, पारदर्शीता आवश्यकता रहेको सरोकार वालाको भनाइ रहेको छ ।
साधारण सभामा डिभिजन बन कार्यालयका डिभिजन प्रमुख प्रभात सापकोटाले वनको संरक्षण, संवद्र्धन र दिगो उपयोगलाई प्रभावकारी बनाउँदै वृक्षारोपण, वन पुनरुत्पादन, वन उद्यम तथा रोजगारीमूलक कार्यक्रम विस्तार गर्ने योजनालाई प्राथमिकतामा राख्दै योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु भयो । डिभिजन प्रमुख सापकोटाले वनको संरक्षणबाट वातावरणीय लाभ लिनुका साथै यसको दिगो उपयोगबाट स्थानीय उपभोक्ताको आयआर्जन बढाउने र समुदायको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यीयमा केन्द्रित रहेर योजना निर्माण एवम् कार्यान्वयनमा जोड रहेको थियो ।

साधारण सभामा बाणगंगा न.पा. वडा नं. ३ का अध्यक्ष टेक बहादुर झेडी, वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल, सामुदायिक बन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष जयलाल गिरी, श्रृङ्गिघाट सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष शुसिल सिंह ठकुरी, सामुदायिक बनका पूर्व अध्यक्ष गोविन्द पोडेल, सल्लाहकार विष्णुप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
साधारणल सभामा अध्यक्ष सीतादेवि पौडेलद्धारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम, सचिव दीनानाथ पाण्डेको वार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष सन्तराम रौतारको आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक विष्णुप्रसाद अर्यालद्धारा प्रस्तु लेखा समितिको प्रतिवेदन सभाले सर्वसम्मत पारित गरेको उपाध्यक्ष कुल बहादुर सोमैले बताउनु भयो ।









प्रतिक्रिया