कपिलवस्तु, ३० असोज, कपिलवस्तुको बाणगंगा नगरपालिका–४, सिद्धिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले आगामी आर्थिक वर्षका लागि १८ करोड ८३ लाख २५ हजार ६०३ रुपैयाँ बराबरको अनुमानित लक्ष्य प्रस्तुत गर्दै सदस्यको बचत सुरक्षा, वित्तीय अनुशासन, सुशासन, प्रभावकारी कर्जा असुली र उत्पादनशील क्षेत्रमा लगानीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। सहकारीको १९ वर्षे यात्राको समीक्षा गर्दै संस्थाको दिगो विकासका लागि सदस्यको विश्वास कायम राख्नु, वित्तीय जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउनु र सदस्यको आर्थिक समृद्धिमा योगदान पु¥याउनु आवश्यक रहेकोमा जोड दिइएको छ। सहकारीको उद्देश्य बचत तथा ऋण कारोबार विस्तारमा मात्र सीमित नराखी सदस्यको आर्थिक आवश्यकता पूरा गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र स्थानीय अर्थतन्त्रको आधार बलियो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने सन्देश सभाले दिएको छ। कार्यक्रममा लुम्बिनी प्रदेश सहकारी संघका लेखा समिति संयोजक तेजप्रसाद आचार्यले शेयर सदस्यलाई आठ प्रतिशत लाभांश प्रदान गरेकोमा संस्थाको प्रशंसा गर्नुभयो। उहाँले दर्शन सहकारी यस क्षेत्रकै उत्कृष्ट सहकारी रहेको दाबी गर्दै सदस्यलाई ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो। सहकारीको वास्तविक पूँजी वित्तीय विवरणमा देखिने रकम र कारोबारको आकार मात्र नभई सदस्यले संस्थाप्रति गर्ने विश्वास, संस्थाको पारदर्शिता र जवाफदेहिता समेत भएको संस्थाको धारणा छ। सदस्यले जम्मा गरेको बचतको सुरक्षा र त्यसको उचित परिचालन सहकारीको पहिलो जिम्मेवारी भएकाले कारोबार विस्तारसँगै तरलता व्यवस्थापन, कर्जा जोखिमको मूल्याङ्कन र वित्तीय सन्तुलन कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। वर्तमान आर्थिक वातावरणमा व्यवसाय सञ्चालनका चुनौती र बढ्दो आर्थिक दायित्वका कारण सहकारी सञ्चालन थप जिम्मेवार बन्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा नियमित बचतलाई प्रोत्साहन गर्ने, कर्जाको सदुपयोग सुनिश्चित गर्ने र तोकिएको समयमा साँवा तथा ब्याज असुल गर्ने प्रभावकारी प्रणाली विकास गर्नु संस्थाको वित्तीय स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिन्छ। साधारण सभामा संस्थाका अध्यक्ष कमला सेन (सुष्मा खाँण)द्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उत्पादनशील कर्जाबाट सदस्यको आर्थिक समृद्धि, पारदर्शिता र सदस्य सहभागितासंगै सुशासनका आधार तयार हुने विषयमा जोड दिएको छ ।

उत्पादनशील कर्जाबाट सदस्यको आर्थिक समृद्धिमा जोड
साधारण सभामा प्रस्तुत प्रतिवेदनल् सहकारीबाट प्रवाह हुने कर्जाले सदस्यको आम्दानी वृद्धि, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा योगदान पु¥याउनुपर्नेमा जोड दिइएको छ। कृषि, व्यवसाय तथा आयआर्जनमूलक क्षेत्रमा कर्जाको सदुपयोगलाई प्रोत्साहन गर्नुका साथै सदस्यको आवश्यकता र भुक्तानी क्षमताको मूल्याङ्कन गरेर जिम्मेवार कर्जा प्रवाह गर्नुपर्ने आवश्यकता औँल्याइएको हो।
कर्जा वितरण गर्नु मात्र सहकारीको सफलता नभई त्यसबाट सदस्यको आम्दानी बढेको छ कि छैन, व्यवसाय विस्तार भएको छ कि छैन र नियमित रूपमा ऋण तिर्न सक्ने क्षमता विकास भएको छ कि छैन भन्ने विषय पनि महत्त्वपूर्ण हुन्छ। त्यसैले वित्तीय परामर्श, कर्जाको सदुपयोगसम्बन्धी सचेतना र प्रभावकारी असुली प्रणालीलाई सँगसँगै अघि बढाउनु आवश्यक देखिएको छ।
संस्थाकी अध्यक्ष कमला सेन (सुष्मा खाँण)ले सहकारीका आगामी कार्ययोजना, चुनौती र जिम्मेवारीप्रति संस्था सचेत रहेको बताउनुभयो। उहाँले संस्थागत विकाससँगै शेयर सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाले आगामी दिनमा नियमित बचतलाई प्रोत्साहन गर्ने, उत्पादनशील तथा आयआर्जनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने र तरलता तथा वित्तीय जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। त्यस्तै, सेवालाई प्रविधिमैत्री बनाउने, युवा तथा महिला सदस्यलाई उद्यमशीलतासँग जोड्ने, आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउने र कर्मचारीको क्षमता विकास गर्ने विषयलाई पनि प्राथमिकतामा राखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

पारदर्शिता र सदस्य सहभागिता सुशासनका आधार
साधारण सभामा सहकारीको दिगो विकासका लागि सञ्चालक समिति र कर्मचारीको प्रयाससँगै सदस्यको जिम्मेवार सहभागिता पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ। सदस्यले नियमित बचत गर्ने, संस्थाका नीति तथा नियम पालना गर्ने, कर्जाको सही प्रयोजनमा उपयोग गर्ने र समयमै भुक्तानी गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइएको छ। त्यसैगरी संस्थाका गतिविधिबारे जानकारी लिने, वित्तीय विवरणको समीक्षा गर्ने र सुधारका लागि रचनात्मक सुझाव दिने अभ्यासले सहकारीमा पारदर्शिता र जवाफदेहिता बढाउन मद्दत पु¥याउँछ।
सभामा संस्थाका सचिव देवेन्द्र विक्रम मल्लले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष मीना कुमारी सेनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उपाध्यक्ष निर्मल शाहीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा खानेपानी संस्थाका जिल्ला अध्यक्ष तथा केन्द्रीय प्रतिनिधि राजेन्द्र विक्रम शाह, सल्लाहकार झलक मल्ल ठकुरी र निवर्तमान अध्यक्ष कृष्णबहादुर शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
साधारणसभाको अवसरमा २२ जना ज्येष्ठ शेयर सदस्य, पाँच जना असल ऋणी र पाँच जना असल बचतकर्तालाई नगद पुरस्कार सहित सम्मान गरिएको संस्थाले जनाएको छ। सदस्यको योगदानको कदर गर्दै गरिएको सम्मानले नियमित बचत, जिम्मेवार कर्जा उपयोग र संस्थाप्रतिको सहभागितालाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
१९ वर्षको संस्थागत यात्रालाई आगामी दिनमा थप सुदृढ बनाउन सदस्यको विश्वास कायम राख्ने, वित्तीय कारोबारलाई पारदर्शी बनाउने र सदस्यको आर्थिक हितलाई केन्द्रमा राख्ने कार्य महत्त्वपूर्ण हुनेछ। सहकारीको दीर्घकालीन सफलता कारोबारको आकारमा मात्र नभई सदस्यको बचत कति सुरक्षित छ, कर्जा कति उत्पादनशील बनेको छ र संस्थाको सञ्चालन कति पारदर्शी तथा जवाफदेही छ भन्ने आधारमा मापन हुनुपर्ने सहकारी क्षेत्रका जानकार लेखनाथ भट्टराईको भनाई रहेको छ ।









प्रतिक्रिया