प्रदेश

शिवराज विपद् कोषमा सहयोगी हातहरु बढ्दै, हालसम्म साढे ३ लाख बढीको नगद, १० लाखको खाद्य सामग्री सहयोग



कपिलवस्तु, २३ चैत्र ।
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको ‘स्थानीय तह प्रकोप व्यवस्थापन कोष’मा सहयोगी हातहरु बढ्दै गएका छन् । कोभिड–१९ (कोरोना भाइरस) सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहतका लागि स्थापना गरिएको विपद कोषमा सहयोगी मनहरु बढ्दै गएका हुन् । समाचार तयार पार्दासम्म शिवराज विपद् कोषमा सहयोगी दाताहरुबाट मात्र ३ लाख ५४ हजार १सय ५५ रुपैयाँ जम्मा भएको छ । नगरपालिकाले ६३ लाखको कोष स्थापना गरेको थियो । यससँगै प्रकोप व्यवस्थापन कोषमा कूल ६६ लाख ५४ हजार १सय ५५ रुपैयाँ संकलन भएको बताइएको छ ।
कोरोना भाइरसको सम्भावित संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित श्रमिक तथा असहायलाई राहत पुगोस् भन्ने उद्देश्यले रोटरी क्लब अफ कपिलवस्तुले १९हजार ५सय बराबरको ५सय किलो चामल सहयोग गरेको अध्यक्ष ज्ञानुप्रसाद पोखरेलले जानकारी दिएका छन् । यस्तै प्रधानमन्त्री राहत कोषमा रोटरी क्लब अफ कपिलवस्तुको तर्फबाट ३० हजार जम्मा गरिदिएको रोटरी कपिलवस्तुका अध्यक्ष पोखरेलले बताए । रोटरी क्लब अफ कपिलवस्तुले राहतका लागि कूल ४९ हजार ५सय रुपैयाँ बराबर नगद र खाद्यान्न सरकारलाई सहयोग गरेको रोटरी अध्यक्ष पोखरेलले जनाए ।
यता व्यापार संघ कपिलवस्तुका अध्यक्ष एवं ओम व्यवसायिक प्रतिष्ठानका संचालक महादेव पोखरेलले शिवराज नगरपालिकाद्वारा स्थापित विपद् व्यवस्थापन कोषमा ५५ हजार ५सय ५५ रुपैयाँको चेक नगरप्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई हस्तान्तरण गरेका छन् । आफू जस्तै अन्य सबैले दिएको सानो सहयोगले दैनिक जीवन यापनमा समस्या भएका अति विपन्न र असहाय परिवारलाई ठूलो राहत पुग्ने पोखरेलले विश्वास व्यक्त गरे ।
अटल सिमेन्ट प्रालिका व्यवस्थापक एवं चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमसेर अलि मियाले भने नगरपालिको लक्षित विपन्न वर्ग १६सय परिवारलाई वितरणका लागि नगरपालिकाको जिम्मा लगाएका छन् । अलि मियाँले कूल ८ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको खाद्य सामग्री अलग अलग १६सय पोका बनाई शिवराज नगरपालिकालाई हस्तान्तरण गरेको जानकारी दिए । राहत सामग्रीमा प्रति परिवारका लागि १० केजी चामल, एक केजी दाल, एक पोका तेल र एक पोका नुन रहेको छ । यो महामारीको समयमा दैनिक ज्यालादारीमा निर्भर रहने घरपरिवारलाई थोरै भएपनि केही राहत पुग्ने मियाँले प्रतिक्रिया दिए ।
कपिलवस्तु प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले शिवराजका अति विपन्न परिवारका लागि २० क्विन्टल चामल शिवराज नगरपालिकालाई प्रदान गरेका छन् । नगरका गरीब बिपन्न परिवारलाई बितरण गर्न सांसद शाहले नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेका हुन् । यसैबीच नेपाली कांग्रेस क्षेत्र न ३ (क) सभापति गोबिन्द के.सी.ले शिवराज नगरपालिकाको प्रकोप कोषमा ५१ हजार सहयोग प्रदान गरेका छन् । के.सी.ले नगर प्रमुख नेत्रराज अधिकारीलाई ५१ हजार रकमको चेक हस्तान्तरण गरेका हुन् ।
अरनिको बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष नारायण भाट क्षेत्रीले शिवराज नगरपालिकाको प्रकोप कोषम १० हजार रकम सहयोग प्रदान गरेका छन् । क्षेत्री चन्द्रौटा उद्योग वाणिज्य संघका सचिव तथा गंगादेवी टेडर्सका व्यवस्थापक हुन् । उनले नगरप्रमुख अधिकारीलाई चेक हस्तान्तरण गरेका थिए ।

शिवराज जेसिज चन्द्रौटाका अध्यक्ष विजय सापकोटाले शिवराज नगरपालिकाको स्थानीय तह प्रकोप ब्यबस्थापन कोषको खातामा १० हजार नगद सहयोग गरेका छन् । शिबराज नगरपालिकाभित्रका ६ वटा सहकारी संस्थाले नगरपालिकाको प्रकोप कोषमा एक मुष्ट १लाख ७ हजार १ सय रुपैयाँ सहयोग प्रदान गरेका छन् । सहयोगी सहकारीहरुमा अरनिको बचत तथा ऋण सहकारीले ५० हजार, सर्बोदय महिला बचत तथा ऋण सहकारीले १० हजार, जनकल्याण स्वाबलम्बन बचत तथा ऋण सहकारीले १५हजार १सय, श्रृजनशील बचत तथा ऋण सहकारीले ७ हजार, उज्यालो बचत तथा ऋण सहकारीले १५हजार र विगुल बचत तथा ऋण सहकारीले १०हजार रकमको चेक नगरपालिका प्रमुखलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
यता शिवराज नगरपालिका वडा नं. ५, कटनी पूर्व टोल बासीको तर्फबाट शिवराज नगरपालिकाको प्रकोप कोषमा २१ हजार आर्थिक सहयोग रकम प्रदान गरिएको अकोराब प्रदेश ५ उपाध्यक्ष राजु खरालले जानकारी दिए । विपन्नलाई थोरै भएपनि राहत पुगोस् भन्ने अभिप्रायले स्थानीय आफैं सक्रिय भई रकम संकलन गरी प्रकोप कोषमा सहयोग गरेको स्थानीय राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।
यता नगर प्रमुख नेत्रराज अधिकारीले बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका परिस्थितिमा गरेको सहयोग उल्लेखनीय रहेको भन्दै सहयोगी मनहरुप्रति आभार प्रकट गरेका छन् । विभिन्न व्यक्तित्व, संघसंस्था, निकायले प्रदान गरेको सामग्री नगरले तयार पारेको नगर भित्रका अति विपन्न परिवारहरुलाई वितरण गरिने प्रतिबद्धता जाहेर गरे ।
नगरपालिकाले पहिलो चरणमा१६ सय अति विपन्न घर परिवारलाई राहत वितरण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए । राहत वितरण कार्यक्रमलाई एकद्वार गर्नको लागि सहयोगी दाताहरुलाई खाद्यान्न सामग्री नगरपालिकालाई प्रदान गर्न र नगद रकम प्रकोप कोषमा जम्मा गरिदिन प्रमुख प्रशासकीय अधिकृत पौडेलले अनुरोध गरे ।

 प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई ५ क्विन्टल चामल हस्तान्तरण गर्दै रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष ज्ञानुप्रसाद पोखरेल तथा रोटरी पदाधिकारीहरु ।



नगरपालिकाको लक्षित विपन्न १६सय परिवारका लागि राहत सामग्री हस्तान्तरण गर्दै अटल सिमेन्ट प्रा.लि. संचालक एवं चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाँ ।



नगरप्रमुखलाई चेक हस्तान्तरण गर्दै अरनिको बचत तथा ऋण सहकारी संस्थाका लिमिटेडका अध्यक्ष नारायण भाटक्षेत्री ।



स्थानीयले संकलन गरी रु २१ हजारको चेक नगरप्रमुखलाई हस्तान्तरण गर्दै शिवराज ५, कटनी पूर्वटोल निवासी राजु खराल र राजकुमार क्षेत्री ।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६