सम्पादकीय

एकद्वार प्रणाली र इमान्दारी



सम्पादकीय

कोरोना भाइरसको प्रकोप विरुद्धको अभियान एक्ला एक्लै नथालौं । सरकारको विकल्प पनि नखोजौं । सहमतिको सरकार र मद्यावधि चुनावका कुरा वेमौसमी बाजा हुन् । होलान्, यो सरकारका कमी कमजोरी पनि । अभिलेख राखौं र सहज वातावरण भैसकेपछि त्यसको लेखा–जोखा गरौं, हिसाव–किताव लिउँ । भ्रष्टाचारीलाई सजाय पनि त्यतिबेलै दिउँ । नछाडौं, कसैलाई नउम्काउँ । प्रमाण लुकाएर पनि लुक्नसक्ने सम्भावना छैन कतिपय विषयमा त । जनताले जानीसकेका छन्, बुझ्नेले पनि बुझीसकेका छन् । डर त बरु केमा छ भने भ्रष्टाचारमा पनि भागवण्डा खोजेर, हिस्सा दिएर/ लिएर मिलाउने प्रपञ्च रचिन सक्छ । त्यसका बारेमा समयमै सचेत बनौं । खबरदारी गरौं । भ्रष्टारको विषयलाई राजनीतिकरण नगरौं, नगराउँ ।

        भोकालाई भोजन र बेरोजगार विपन्नलाई खाद्यान्न बाँडेर फेसबुकमा फोटा देखाउनेहरुको भीड बढेको छ । जस्ले, जता पायो उतै, जति सक्यो त्यति, दिदैजाँदा पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले पाइरहने अवस्था हुन/ बन्न सक्छ । पहुँच पुगेका, टाँठा–बाठा, चल्तापूर्जा छट्टू र पट्टूले सधै पाइरहने, अशक्त असहाय र कुना परेकाले नपाउने नहोस् । सम्बन्धित पालिका र वडाको सिफारिसमा दिने गरियोस् । सुगम क्षेत्रको, सडक नजिकको उही ठाउँ र गाउँ बारम्बार नदोहोरियोस्, नतेहरियोस् ।

         कतिदिन, हप्ता वा महीनापछि रोकिन्छ कोरोनाको कहर भन्ने कुरा थाहा छैन कसैलाई पनि । विकसित मुलुकहरु पनि हायल कायल भएका छन् । फोटा खिचाउन र आफुले बाँडेको देखाउन हतार गर्नेले भोलिका बारेमा पनि सोचौं । जे दिदा पनि पुग्नेगरी, दिउँ । २/४ पोका चाउचाउ, चिउरा, नून दिएर महिनादिन कट्छ भन्ने नसोचौं । दीर्घकालीन हिसावले, योजनावद्ध तरिकाले, एकद्वार प्रणाली अपनाएर बाँडौं । एक्ला एक्लै नबाडौं । जनता नभाँडौं ।कतिपय नगरपालिकामा खाद्यान्न(राहत) वितरण गर्दा आफ्ना कार्यकर्ता पोषेको, दिनुपर्नेलाई नदिएको, नदिनुपर्नेलाई दिइएको कुरा पनि सार्वजनिक भएको छ । झडप भएको छ कतिपय ठाउँमा ।

        यस्तो विश्वव्यापी महामारी फैलिएर जीवन मरणको बेलामा पक्षपात् गर्ने पापी र कुकर्मीहरुले सजाय पाउने छन् अवश्य पनि तलदेखि माथिसम्म । सजाय दिने समय पनि आउने नै छ । एकद्वार प्रणाली नअपनाउँदा ०४५ सालको भूकम्पका बेलामा पीडितलाई राहत वितरण गर्दा भक्तपुरमा घटेको कर्ण ह्योजु काण्डको पुनराबृत्ति हुन सक्छ भन्नेतर्फ हेक्का रहोस् । नहोस् त्यस्तो भन्ने कामनाले मात्रै काम गर्दैन । मान्छेलाई गलत शिक्षा दिएर विरोधका नाममा अराजकता उत्पादन गरेको नतिजा देखिदैछ । कोही कसैका कुरा सुन्ने पक्षमा छैन । अविश्वासको खेतीको उपज हो यो, अहिले देखिदैछ जो ।

        सरकार र व्यवस्थालाई असफल बनाउन, सारा संयन्त्र ध्वस्त पार्न जति सजिलो थियो पहिले, निर्माण गर्न उत्तिकै कठिन भएको छ अहिले । जे कुरामा पनि नेपाली सेनाको सहारा लिनपर्नुको कारण त्यही हो । यसको नतिजा नराम्रो निस्कन पनि सक्छ । अल्पकालीन उपचार खोज्दा दीर्घकालीन रुपमा पछुताउन पर्ने अवस्था आउन पनि सक्छ । समयमै ध्यान जाओस् । मुलुकले पनि मुक्ति पाउने जुक्ति निस्कोस् ।

प्रकाशित : २४ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६