लुम्बिनी

लकडाउनको मौकामा चोरी तस्करी



दाङ  २८ चैत्र । दाङ र आसपासका जिल्लामा  लकडाउनको मौका छोपी वनमा चोरीतस्करीका घटना बढेका छन् । तस्करले जिल्लाका बजारदेखि टाढा रहेका वन क्षेत्रमा गएर काठ चोरी गरेका छन् ।जिम्मेवार तहका व्यक्ति नै रुख फँडानीमा संलग्न रहेको पाइएको डिभिजन वन कार्यालय  दाङले जनाएको छ । यसपटक अधिकांश  नयाँ ठाउँमा तस्करले  काठ कटान गरेका छन् ।

         कार्यालय  प्रमुख  दीपक ज्ञवालीले  बन्दाबन्दी शुरुभएदेखि हालसम्म  छ वनका वन पैदावार चोरी तथा तस्करीका घटनामा १० जनालाई पक्राउ गरिएको बताउनुभयो ।  पक्राउ परेकाहरुबाट सयौँ क्युफिट काठ, तीन ट्रयाक्टर  तथा रुख काट्न प्रयोग गरिने औजार बरामद  भएको छ ।  बरामद गरिएको काठ मुचुल्का तयार गरी सुरक्षितसाथ राखिएको प्रमुख ज्ञवालीले बताउनुभयो ।चोरीमा संलग्नको विस्तृत विवरण केही दिनमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ । लकडाउन अवधिमा बढेको काठ तस्करी, चोरी निकासी  र वन्यजन्तु  शिकारका घटना  बढन नदिन  विभिन्न समूह बनाएर  वन गस्ती शुरु गरिएको कार्यालयले जनाएको छ । 

वन गस्ती शुरु

अर्घाखाँची– शीतगंगा नगरपालिका वडा नम्वर ११ खयरभट्टीमा काठ चोरी तस्करी बढेको छ । लकडाउनमा मानिस घरभित्रै बसेको मौका छोपी कपिलवस्तुसँग सिमाना जोडिएको क्षेत्रमा तस्करले काठ चोरी गरेका हुन् । विश्वमा फैलिएको कोराना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेको समयमा खयरभट्टीमा नेपाल सरकारको जनहितमा जारी निर्देशनलाई अवज्ञा गर्दै लुकिछिपी वन विनाश र तस्करी बढेको हो ।  लुकीछिपी काठको तस्करी बढेपछि वन कार्यालयले वन गस्ती शुरु गरेको छ । गस्ती गर्दा सालका ठूला सात रुख काटेर झण्डै रु डेढ लाख मूल्यको चोरी  भएको भेटिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख शिव शर्माले बताउनुभयो ।  स्थानीय सामुदायिक वन उपभोक्ता समिति र आफ्नो मातहतका कर्मचारीलाई राम्रोसंँग हेरविचार गर्नसमेत आग्रह गरिएको डिभिजन वन प्रमुख शर्माले बताउनुभयो ।   

नदीजन्य वस्तु पनि शिकार 

जीतपुर–लकडाउनको मौका छोपी कपिलवस्तुको बाणगङ्गा नदीमा नदीजन्य वस्तुको चोरीतस्करी मौलाउँदै गएको छ । रातभर दर्जनौँ सवारी साधन र भ्याकु मेशिन प्रयोग गरेर डम्पिङ गरिएको करीब चार सय ट्रयाक्टर गिटीबालुवा बाणगङ्गा नगरपालिकाले बरामद गरेको छ । नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो ।बाणगङ्गा –८ वालापुरको नदी किनारमै रातभर थुपारिएको नदीजन्य पदार्थ जफत गरिएको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले प्रहरीको जिम्मा लगाइएको बताउनुभयोे । उपप्रमुख अर्यालले यस्तो राष्ट्रिय संकटका बेला रातभर नदी उत्खनन गर्नेलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयसमक्ष जानकारी गराइएको बताउनुभयो । सो क्षेत्र ठेक्का नलागेको क्षेत्र भएको पनि उहाँले प्रष्ट्याउनुभयो । उक्त क्षेत्रमा करीब चार सय ट्रयाक्टर मिश्रण रातभरमा थुपारिएको थियो । केही दिनयता बाणगङ्गा नदीमा नदीजन्य पदार्थको दोहन अत्याधिक भैरहेको बाणगङ्गा–५ मधौलियाका स्थानीयवासीले बताएका छन् । 

प्रकाशित : २८ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६