लुम्बिनी

प्रदेश नं. ५ मा बन्दाबन्दीलाई थप प्रभावकारी वनाइने



बुटवल, ४ जेठ । प्रदेश ५ का तराईका जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि  बन्दावन्दीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आईतवार वसेको प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले उक्त निर्णय गर्दै कोरोनाका कारण उत्पन्न हुन सक्ने संभावित जोखिम नियन्त्रणलाई प्रभावकारी वनाउने निर्णय समेत गरेको छ ।  समितिको वैठकले प्रदेश सिमानाका बाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्ने कार्यलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय परिचालन गरी पूर्णरुपमा नियन्त्रण र निषेध गर्ने निर्णय पनि भएको छ । 

        समितिले प्रदेश अन्तर्गत विभिन्न जिल्ला र स्थानीय तहहरुमा निर्माण गरिएको क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्ने, भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म पनि क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमा क्षेत्रमा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा एक हजार बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा संचालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरवहादुर केसीले जानकारी दिनुभयो ।  

        त्यसैगरी समितिले मित्रराष्ट्र भारतबाट आफ्नो पालिकामा आउन सक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्ने, हाल संचालनमा रहेका क्वारेन्टाइनलाई सुविधा र पूर्वाधारहरुको विश्लेषण गरी आइसोलेसन सेण्टरका रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ । 

        बाँके जिल्लामा कोभिड १९ संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउने, जोखिम बढी देखिएका जिल्लाका स्थानीय तहहरुमा परिक्षणको दायरा वढाउने, विरामीहरुसँग सम्पर्कमा रहनेहरुको कन्ट्याक्ट टे«सिङ गरी उनीहरुको परिक्षण गर्ने व्यवस्था गर्ने, स्वाव संकलन गरिएका व्यक्तिहरु र अन्य व्यक्तिहरुलाई भौतिक दुरी कायम गरी बस्नका लागि परामर्श दिने पनि समितिले निर्णय गरेको छ । 

        छिमेकी मित्रराष्ट्र भारतबाट विभिन्न सिमा नाका हुँदै प्रवेश गर्ने व्यक्तिहरु मध्ये तोकिएको अवधिसम्म भारतमा नै क्वारेण्टाइनमा बसी आएकाको हकमा सम्बन्धित जिल्लामा व्यवस्थित रुपमा पठाउने व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र क्वारेण्टाइनमा नवसेका व्यक्तिहरुलाई क्वारेण्टाइनमा राख्ने व्यवस्था मिलाउने पनि समितिले निर्णय गरेको छ ।

        रुपन्देही जिल्लामा कोभिड– १९ संक्रमण बढी रहेको सन्दर्भमा लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एक सय र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने निर्णय पनि समितिले गरेको छ । 

        बाँके जिल्लामा संक्रमितहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भएकोले नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताललाई कोभिड १९  विशेष अस्पतालको रुपमा प्रयोग गर्नको लागि नेपाल सरकारलाई अनुरोध गर्ने, नेपालगञ्ज, वुटवल र भैरहवामा रहेका कोरोना विशेष अस्पतालमा संक्रमित विरामीको चाप बढी रहेको अवस्थामा तत्कालका लागि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामी पठाउने व्यवस्था मिलाउने निर्णय पनि समितिको बैठकले गरेको छ । 

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६