लुम्बिनी

प्रधानाध्यापकमा कोरोना पुष्टि भएपछि गुल्मीमा त्रास, अर्घाखाँचीको पोलिक्लिनिक सिल



गुल्मी, ५ जेठ ।  पहिलो पटक एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि त्रास देखिएको छ ।  मदाने गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएको हो  । उहाँ ज्वरो र रुघाखोकीको समस्या देखिएपछि यही जेठ १ गते मदानेको पुर्कोट दहबाट ए्म्बुलेन्समार्फत उपचारका लागि रुपन्देहीको क्रिमसन अस्पताल जानुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताउनुभयो ।  

            स्वास्थ्यकर्मीको सल्लाहमा तत्कालै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै रुपन्देही जानुभएको हो । ज्वरो र रुघाखोकीका कारण कोरोनाको आशंका गरेर अस्पतालले जेठ २  गते स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला भैरहवा पठाइएको थियो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज संक्रमणको पुष्टि गरेपछि यतिबेला  जिल्ला थप त्रसित बनेको छ । 

        प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लामै पहिलो पटक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको खबर पाएपछि संक्रमितको घरलाई बन्द गरिएको जानकारी दिनुभयो । परिवारका सदस्यलाई पनि कोरोना संक्रमण हुन सक्ने आशंकामा बाहिर निस्कन रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । परिवारका सदस्यको कोरोना परीक्षणपछि मात्रै संक्रमण भए नभएको थाहा हुने भएकाले निगरानीमा राखिएको गाउँपालिकाले जनाएको छ ।  

        यसैबीच, गुल्मी मदानेका कोरोना संक्रमितले उपचार गराएको अर्घाखाँचीको छाया पोलिक्लिनिक बन्द गरिएको छ । मदानेका संक्रमितले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा आएर उपचार गराएको भन्ने खुलेपछि सिल गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो  । 

        ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि शुरुमा पोलिक्लिनिकमा जाँच गराउँदा सम्भव नभएपछि उहाँ रुपन्देहीको क्रिमसन अस्पतालमा गएर भर्ना हुनुभएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।  छाया पोलिक्लिनिक बन्द गरेर त्यहाँ रहेका चिकित्सक, स्वास्थ्यकर्मी, उपचारका लागि आएका सबै बिरामी र सम्पर्कमा आएकाहरुको खोजी गरी कोरोना परीक्षण गरिने जनाइएको छ । (रासस)

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६