लुम्बिनी

विदेशमा रहेका परिवारका सदस्यलाई मनोपरामर्श



दाङ १० जेष्ठ ।  रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ ।  श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारसँग जोडिएकाहरुका आफन्तलाई परामर्श दिने काम भइरहेको छ । 

               विदेशमा रहेकाहरुको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको परियोजना जिल्ला संयोजक वसन्ता पुनले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका आफन्तको चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उहाँले बताउनुभयो । विदेशमा अप्ठेरामा परेकाहरुका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरुलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ । 

            संक्रमण फैलन नदिन लागू गरिएको बन्दाबन्दीयता जिल्लाका चार पालिका घोराही र  तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा एकएक मनोपरार्शकर्ताले परामर्शको काम गरिरहेका छन् । विशेषगरी विदेशमा आफन्त हुँदा यहाँ परिवारका सदस्यमा पर्न गएको मानसिक तनाव कम गर्न उनीहरुको पीडा सुन्ने गरेको घोराहीमा मनोपरामर्शको काम गरिरहनुभएका मनोपरामर्शकर्ता सुशीला आचार्यले बताउनुभयो ।

             “यहाँ परिवारको दैनिक अवस्था, विदेशमा रहेका आफन्तको अवस्था जानकारी लिने काम भइरहेको छ”,  उहाँले भन्नुभयो । यस्तो सन्त्रासका समयमा उनीहरुको परिवारका सदस्यको मनमा उत्पन्न हुने असहज अवस्थालाई कम गर्न प्राथमिक मनोशिक्षा दिने काम भइरहेको छ । विदेशमा रहेकाहरु समस्यामा परेको भए समाधानका लागि स्थानीय तहमार्फत सरकारसँग समन्वय गर्ने कार्य पनि गरिएको परियोजनाका वित्तीय साक्षरता सहजकर्ता रमा शर्माले जानकारी दिनुभयो । विदेशमा रहेकाका परिवारको लकडाउनका कारण दैनिक छाक टार्न समस्या भए राहत उपलब्ध गराउनका लागि सम्बन्धित वडा कार्यालय र स्थानीय तहमा समन्वय गरिदिने काम परियोजनाले गरिरहेको उहाँले बताउनुभयो । 

          परियोजनाअन्तर्गत जिल्ला प्रशासन कार्यालय दाङमा सुरक्षित आप्रवासन सूचना केन्द्र स्थापना गरेर परामर्शको काम भइरहेको छ।लकडाउनपछि राहदानी बनाएकाहरुलाई सुरक्षित वैदेशिक रोजगारी तथा कोरोनाको कारण वैदेशिक रोजगारमा भइरहेको गतिविधिबारे जानकारी दिने बताइएको छ । 

प्रकाशित : १० जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६