लुम्बिनी

दाङका कोरोना संक्रमित १८ जना भारतबाट आएका



दाङ,१४ जेठ । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन् ।

            जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणबाट आज एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना  छन् ।  घोराही १० र १८ ले निर्माण गरेको क्वारेन्टिनमा बसेका सात संक्रमित सबै भारतको नयाँदिल्लीबाट यही जेठ ९ गते फर्किएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उपमहानगरपालिकाले ल्याएर सीधै क्वारेन्टिनमा राखी स्वाब परीक्षणमा पठाइएको बताइएको छ । संक्रमण पुष्टि भएका सातै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको घोराही उपमहानगरपालिका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिनुुभयो । 

            यस्तै लमही नगरले जेठ ९ गते २२  र ११ गते ४७ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएकामध्ये आज कोरोना संक्रमण पुष्टि भएका आठ जना पनि भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ ।   संक्रमितमध्ये वडा नं १ का २३ वर्षीय पुरुष तथा वडा नं २ का ३० र १७ वर्षीय पुरुष  जेठ ९ गते हैदरावादबाट कृष्णनगर नाका हुँदै लमही आएका थिए । यस्तै वडा नं ४ का २६ वर्षीय पुरुष राजस्थान र वडा नं ५ का २० वर्षीया महिला तथा २० र २३ वर्षीय पुरुष पनि भारतका दार्जिलिङ, पञ्जाब र दिल्लीबाट आएका हुन् । 

            लमही नगर प्रमुख कुलबहादुर केसीका अनुसार दार्जलिङबाट आएकी २० वर्षीया विद्यार्थी भारतको सिलगुडी हुँदै नेपालको झापाबाट धरान आएको र धरानबाट दाङका ५० जनाभन्दा बढी मिलेर गाडी रिजर्भ गरेर दाङ आएका हुन् । ती महिलासँगै घोराही, तुलसीपुर र  भालुवाङका यात्रु पनि संँगै आएको महिलाले दिएको जानकारीबाट खुलेको उहाँले बताउनुुभयो । वडा नं ८ का अर्का २३  वर्षीय पुरुष  भने दिल्लीबाट आएका थिए ।  संक्रमित सबैलाई उपचारका लागि कोरोना अस्पताल बेलझुण्डी पु¥याइएको नगर प्रमुख केसीले बताउनुुभयो ।  

        यसअघि घोराहीमा भेटिएका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते दाङ आई सोझै कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए । समुदायमा हेलमेल नभएकाले सामुदायिक संक्रमण नभए पनि उनीहरुसँग गाडीमा अरु ३२ जना आएकाले सबैको परीक्षणको तयारी रहेको घोराही उपमहानगरले जनाएको छ । (रासस)

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६