लुम्बिनी

रुकुम घटनाका दोषीलाई कारवाहीको माग



भैरहवा, १६ जेठ । रुकुम पश्चिममा दलित युवालाई हत्या गरिएको विरोधमा रुपन्देही जिल्ला अगुवा दलित नेतृत्वले रुपन्देहीमा एक घण्टा धर्ना दिएको छ ।यही जेठ १० गते रुकुम पश्चिमको चौरहजारी नगरपालिका वडा नम्बर ८ का एक दलित युवकले कथित उपल्लो जाति भनिने युवतीसंग प्रेम गरेको र युवती पनि उक्त युवकसंग विवाह गर्न तयार रहेको अवस्थामा पनि (दुलाहा) युवासहित तीन जनाको निर्मम हत्या गरिएको विरोधमा दलित अगुवाहरुले भैरहवामा धर्ना दिएका हुन् ।

            युवतीका परिवारजनले दलित युवा नवराज वि.क.लाई आफ्नी प्रेमिका सुष्मा मल्ल ठकुरीकै आग्रहमा उनलाई लिन जाँदा बीच बाटोमा घेराबन्दी र रोक छेक गदैै ढुंगामुढा गरी दुलाहासहित तीन जनाको हत्या गरिएको घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडी धर्नामा दिइएको दलित अगुवा धु्रव लाम्गादेले बताए ।

            रुकुम पश्चिमको घटना नेपालको संविधान एवं जातीय छुवाछुत तथा कसुर सजाय ऐन १०६८ को समेत धज्जी उडाउँदै केही कथित उपल्ला जाति भनाउँदाहरुबाट भएको यस किसिमको नरसंहारको घोर भ्रत्सना गर्दै रुपन्देहीमा रहेका विभिन्न संघ–संस्था तथा राजनीतिक पार्टीका दलित अगुवा नेता तथा कार्यकर्ताले घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाइएको लाम्गादेले बताए ।

            घटनामा ज्यान गुमाएका सम्पूर्ण मृतकलाई नेपालको सांस्कृतिक शहिद घोषणा गर्नुपर्ने र घटनामा संलग्न दोषीहरुलाई उन्मुक्ति दिन नहुने माग राख्दै रुपन्देहीका दलित अगुवाहरुलेरुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

            दलित समुदायप्रति थिचोमिचो हुने, छुवाछुत तथा विभेदका कारण कुटपिट हुने र गाउँ निकाला गरिनुका साथै हत्यासम्म गरिने क्रम बढ्दो रहेको कुरा नेपालमा रहेका ६० लाख दलित समुदायलाई स्वीकार्य नहुने ज्ञापनपत्रमा उल्लेख छ ।

            रुकुमको घटनामा संलग्न अभियुक्तहरुलाई कडा भन्दा कडा कारवाही गर्दै घटनाबाट पीडित रहेका दलित समुदायहरुलाई शान्ति सुरक्षाको पूर्ण व्यवस्था हुनुपर्ने माग गर्दछौं, यस घटनामा राजनीतिक रुप दिई राजनीतिक पहुँचको आधारमा अपराध र अपराधीलाई लुकाउन कुनै किसिमको काम नहोस् ज्ञापनपत्रमा भनिएको छ ।

            कुनै पनि बहानामा दलितहरुलाई अन्याय हुने किसिमको अवस्थामा रहेमा देशभरीमा ६० लाख भन्दा बढी दलितहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अवस्थाको सिर्जना हुने धर्ना कार्यक्रममा बोल्ने अगुवाहरुको भनाइ थियो । कार्यक्रममा प्रेम कुमार सेञ्चुरी, किस्मत रामदाम, तेज प्रसाद सेञ्चुरी, पदम वि.क., जोगलाल वि.क., हरिओम वि.क,, सावित्रा वि.क., जुद्ध वि.क., रामकिसन सेञ्चुरी, डम्बर लाल रामदाम, सतिष कुमार कौशल (दिपक), एच.बी. रम्तेल, हर्क बहादुर मिजार लगायतले बोल्दै घटनामा संलग्न दोषीलाई कडा कारवाहीको माग गरेका थिए ।

            धर्ना तथा विरोध कार्यक्रमपूर्व रुकुमको घटनाका दोषीलाई कारवाही गर, घटनामा मृत्यु भएका युवकलाई सांस्कृतिक शहिद घोषणा गर, संसदीय छानबीन समिति गठन गर लगायतका नारा लगाउँदै भैरहवाको मिलनचोकबाट सुरु भएको ¥याली मैत्रीपथ हुँदै जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा परिणत भएको थियो ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६