म्याग्दी, १८ जेठ । म्याग्दीमा डेगुं संक्रण बढ्दै गएको छ । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको हो । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो । योसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या १० पुगेको छ । तीमध्ये नौ जना निको भएर घर फर्किएका छन् ।
बरङ्जाबाट उपचारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । बालिकामा उच्च ज्वरो आउने, शरीर दुख्ने तथा जोर्नी दुख्नेजस्ता समस्या देखिएको छ । सङ्क्रमित बिरामीलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने हुँदा फोहर र पानी जम्ने ठाउँ सफा गर्न स्वास्थयकर्मीले सुझाव दिएका छन् । वर्षात्को समय शुरु भएसँगै गर्मीमा लामखुट्टे सक्रिय हुने भएकाले पानी जम्ने विभिन्न ठाउँ, टायर र गमलालगायतको विशेष सफाइमा ध्यान आवश्यक छ ।
प्रतिक्रिया