चन्द्रौटा२६ कार्तिक। धानको सरकारी समर्थन मूल्यमा व्यापारीले खरिद नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनुगमन गरेको छ । जिल्लाका विभिन्न गल्ला भण्डारहरुले तोकिएको मूल्य भन्दा कम मुल्यमा धान खरिद गरेको निवदेन परेपछि अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले गणेश नेपालीले बताउनुभयो । उहाले अनुगमन पछि व्यापारीहरुले धानको कम मुल्य दिनुका साथै पल्लोभारी,विविध खर्च तथा तौल गर्दाको ज्याला भनेर समेत थप मुल्य जोडने गरेको नेपालीले जनाउनुभयो ।
समस्या कहाँ छ कसले यस्तो गरेको छ भन्ने फेला परेको छ कारवाही के गर्ने भन्ने सल्लाह हुन्छ उहाले भन्नु भयो । सरकारले धानको मूल्य तोक्दा कृषकमा देखिएको उत्साह भएको भएपनि धान बेच्नेबेला कृषकहरु मर्कामा परेको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनुभयो । सरकारले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ भने मसिनो जातको धानको २ हजार ८ सय ८५ तोकेको छ । तर प्रतिक्विन्टल १ हजार ८ सयमै बिक्री गर्नुपर्ने बाध्यता यहाँका किसानलाई रहेको चौधरीले बताउनुभयो ।
सरकारले तोकेको उक्त मूल्यमा खरिद गर्ने केन्द्र पनि कपिलवस्तुमा छैन । मल बेच्न गठन भएका कृषि सहकारीसमेत धान खरिदका लागि तयार नभएपछि जिल्लाका किसान थप मारमा परेका हुन । कृषकबाट समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल १ सय १२ रुपैयाँ अनुदान दिने नीति भए पनि कपिलवस्तुका सहकारीले चासो दिएका छैनन । कृषकहरूको गुनासो आउन लागेपछि प्रशासनले व्यापारीहरुलाई समर्थन मूल्यमा खरिदका लागि निर्देशन दिएको छ ।
प्रतिक्रिया