कपिलवस्तु २० मंसिर। गतसाता नेत्रविक्रम चन्द विप्लवले एक अन्तर्वाता दिदै आफूहरु भूमीगत नभएको र आवश्यक परे खुलामंचमा आउन सक्ने चुनौती एक अनलाइनलाई दिएपनि प्रहरी हेड क्वाटरले विप्लवको खोजी गर्न उनी बस्न सक्ने संभाब्य जिल्लामा हाई अर्जेन्ट नोटिस जारी गर्यो । सोही क्रममा कपिलवस्तु गृहथलो भएका विप्लवको खोजीमा विजयनगर र शिवराज क्षेत्रमा केहिदिन यता प्रहरीको सर्च अप्रेशन जारी थियो ।
यसै क्रममा बिप्लवको खोजी तिब्र पार्दै गर्दा विप्लव नेतृत्वको नेकपाका जिल्ला नेता गशेण थारु पक्राउ परेका छन् । शिवराज नगरपालिकाका सेक्रेटरी समेत रहनुभएका ३९ बर्षीय थारुलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको हो ।कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीको कमाण्डमा खटिएको टोलीले २ दिन सम्म विभिन्न संभाब्य सेल्टरहरुको निगरानी गर्ने र रातीमा हिडडुल गर्ने नाकाहरुमा विशेष अनुगमन गर्दा शिवराज २ हल्लानगरस्थित सुनमाया घर्ती मगरको घरमा लुकिछिपी बसेको अवस्थामा शनिबार दिउँसो ३ बजे थारुलाई पक्राउ गरिएको हो ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई विशेष सुराकीको आधारमा प्रक्राउ गरिएको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।थारु वाणगंगाका बासिन्दा हुन् । शुरुमा बाहिरी जिल्लाको जिल्ला इन्चार्जको रुपमा जिम्मेवारी पाएका थारु पछिल्लो समय धेरै नेता पक्राउ परेसंगै पाटीले तल्लोतहमा जिम्मेवारी दिएर सिमित क्षेत्रमा खटाएको बुझिएको छ । थारुको साथमा केहि महत्वपूर्ण डायरीहरु रहेको र त्यसमा विभिन्न विवरणहरु लेखिएको भएपनि कोडभाषा प्रयोग भएकाले के लेखिएको हो प्रहरीले बुझ्न नसकेको वताइएको छ ।
प्रतिक्रिया