ब्रेकिंग न्युज

बिप्लव समुहद्वारा सुराकीको आरोपमा श्रेष्ठको हत्या



मोरङ, २४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन ०७५ देखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ ।

        यसअघि विभिन्न ठाउँमा बम विस्फोटलगायत घटना गरेको भए पनि विप्लव माओवादीले व्यक्ति हत्या पहिलो पटक गरेको हो । मंगलबार साँझ मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएको छ ।हत्या गरिएका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको मिक्लाजुङ गाउँपालिका– १ बर्खेटोलस्थित घरप्रधानाध्यापक श्रेष्ठलाई सुराकीको आरोप लगाइएको छ । सम्झाउन गएका कार्यकर्तालाई हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारका क्रममा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।

    बिहान ६ बजेतिर गोठबाट गाईबस्तु सार्दै गरिरहेका वेला हतियारसहित आएका चार–पाँच जना विप्लवका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई अपहरण गरेका थिए । त्यसको आधा घन्टाभित्रै करिब एक किलोमिटर टाढा जंगलमा उनको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ ।प्रदेश १ प्रहरीका प्रवक्ता डिएसपी कवीन्द्र कार्कीले विप्लवका कार्यकर्ताले धारिलो हतियारले प्रधानाध्यापक श्रेष्ठको हत्या गरेको बताए ।

    स्थानीयले प्रहरीलाई बताएअनुसार समाजसेवीका रूपमा परिचित श्रेष्ठको कसैसँग रिसिइबी थिएन । उनी नेकपा निकट नेपाल शिक्षक संगठनको पालिका तहका कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।स्थानीयले नजिकैको जंगलमा प्रधानाध्यापक श्रेष्ठको शव फेला पारेपछि बिहानै प्रहरीलाई खबर गरेका थिए । तर, पूर्व–पश्चिम राजमार्गदेखि झन्डै ३५ किलोमिटर उत्तर विकट पहाडी क्षेत्रमा भएकाले प्रहरी दिउँसो ३ बजे मात्रै घटनास्थल पुगेको थियो ।

      इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलको नेतृत्वमा प्रहरी घटनास्थलमा पुगेको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रदेश १ मा हालसम्म विप्लवका दुई सय चार कार्यकर्ता पक्राउ परिसकेका छन । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६