नवलपरासी १ पुस । लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ । बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा बस्ती र पुरातात्विक स्थल जोगाउने गरी झरही र तुरिया नदीको गुरुयोजना बनाएर नदी नियन्त्रणको कार्य शुरुआत गरिएको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो ।
झरही र तुरिया नदीमा आउने बाढीले वर्षेनी ठूलो क्षति पु¥याउने गरे पनि यी दुई नदी नियन्त्रणका लागि अहिलेसम्म कुनै प्रयास भएको थिएन । प्रदेश सरकारले दुवै नदीको उद्गम विन्दुदेखि भारतीय सीमासम्मै नियन्त्रणको कार्य गर्ने उद्देश्यसहित गुरुयोजना बनाएको मन्त्री चौधरीको भनाइ छ । झरही नदी नियन्त्रणका लागि रु दुई अर्ब र तुरिया नदी नियन्त्रणका लागि रु डेढ अर्ब बढीको गुरुयोजना बनाइएको मन्त्री चौधरीले बताउनुभयो ।
सीमित स्रोतसाधन र कोरोना महामारीका कारण यस वर्ष धेरै बजेट विनियोजन गर्न नसके पनि स्रोतको व्यवस्थापन गरेर क्रमागत रुपमा काम अघि बढाइने उहाँले बताउनुभयो । प्रदेश सरकारको बजेटले मात्र अपुग हुने भएकोले सङ्घीय सरकारले थप सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया