भैरहवा २ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पहिलो चरणको काम निर्धारित समयमा नसकिएपनि दोश्रो चरणको काम अघि बढेको छ। विमानस्थलमा समानन्तर ट्याक्सी वे निर्माणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया अघि बढाएको जनाएको छ।विमानस्थलको दोस्रो चरणको आयोजनामा निर्माण हुने सो कामका लागि प्राधिकरणले परामर्शदाता छनौट गरिसकेको छ।
पहिलो चरणको निर्माणको काम अन्तिम चरणमा आएको समयमा प्राधिकरणले दोस्रो चरणको काम पनि अघि बढाएको हो। पहिलो चरणको काम प्राविधिकहरु आउन ढिलाइ हुँदा रोकिएको छ। पहिलो चरणको कामबारे केही दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईले अवलोकन गर्दै अहिलेसम्मको प्रगति पेश गर्न आयोजना कार्यालय भैरहवालाई निर्देशन दिएका छन्।
पहिलो काम पूरा गर्नेतर्फ आयोजना अघि बढिरहेकै समयमा सँगसँगै अर्को काम पनि अघि बढ्न थालेको छ। यसले विमानस्थलमा निर्माण गर्न बाँकी रहेका संरचनालाई छिटो सक्ने र विमानस्थल सञ्चालनमा ल्याउने तर्फ अघि बढ्नेमा सरकार विश्वस्त देखिएको छ। विमानस्थलमा अहिले रहेको पूरानो धावनमार्ग भएकै लाइनबाट समानन्तर ट्याक्सी(वे निर्माणको काम अघि बढ्ने छ।यसका लागि डिजाइन तथा परामर्श दिनका लागि सिंगापुरको कम्पनी मेनहार्ड पिटिइ लिमिटेड र आरआइटिइएसको सयुक्त उपक्रमलाई छनौट गरेको हो।
कम्पनीले यो सेवाका लागि २४ करोड ४० लाख रुपैयाँ कबोल गरेको छ। दोस्रो चरण अन्तर्गत प्राधिकरणले भैरहवामा टर्मिनल भवन निर्माण, समानन्तर ट्याक्सी वे लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। ६ अर्ब ८२ करोडमा पहिलो चरणको भौतिक निर्माणको काम तथा उपकरण जडानका लागि ४८ करोडको योजना बनाएको प्राधिकरणले दोस्रो चरणमा पनि पहिलो चरणकै बराबरको लागत अनुमान गरेको छ। दोस्रो चरणका लागि पनि प्राधिकरणले एसियाली विकास बैंकको ऋण लिएर आयोजना निर्माण गर्ने भएको छ। सरकारले उक्त विमानस्थलका लागि भन्दै यसअघि नै ऋण लिने निर्णय गरिसकेको छ।
प्रतिक्रिया