अर्थ-वाणिज्य

रङ्गशाला निर्माणका लागि १० लाख सहयोग



भरतपुर ९ पुष । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रत्ननगर नगरपालिकाले रु १० लाख हस्तान्तरण गरेको छ । रङ्गशाला निर्माणका लागि सो नगरपालिकाले रु १७ लाख सहयोग गर्ने आश्वासन यसअघि दिएको थियो । पहिलो चरणमा रु १० लाख प्रदान गरेको हो । नगरपालिकाको तर्फबाट रु १५ लाख, जनप्रतिनिधिको तर्फबाट रु एक लाख र कर्मचारीको तर्फबाट रु एक लाख गरी रु १७ लाख आर्थिक सहयोग गर्ने घोषणा गरिएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले धुर्मुस सुन्तली फाउण्डेशनका लेखा प्रमुख मुक्ति तिमिल्सिनालाई बुधबार रु १० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा नगर प्रमुख वनले कोरोना महामारीका कारण रङ्गशाला निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरणमा ढिलाइ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चितवनमा अन्तर्राष्ट्रिय गौरवको आयोजना बनिरहेको छ । यो अन्तर्राष्ट्रिय महत्वको विषय भएकाले सहयोग जारी राख्नेछौँ ।” चितवन मुलुकको तेस्रो पर्यटकीय गन्तव्य भएकाले रङ्गशालाले जिल्लामा खेलकूदको माध्यमबाट पर्यटनको विकास हुने उहाँको विश्वास छ । प्रमुख प्रशासकीय अधिकृत कुँवरले बाँकी रु सात लाख पनि छिट्टै हस्तान्तरण गरिने बताउनुभयो । 

प्रकाशित : ९ पुस २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६