पर्यटन

दाङमा थारू जातिको महान् पर्व माघीको रौनक



दाङ २२ पुष । थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व  मनाउने गर्छन् ।  यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा ९अगुवा० को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ ।यसपालि थारू बस्तीमा खानपिनको मात्र कार्यक्रम हुने र कोभिड–१९ का कारण नाचगानलाई छरछिमेकीसँग मात्र सीमित गर्ने कार्यक्रम रहेको गढवा गाउँपालिका–३ का कमल चौधरीले जानकारी दिनुभयो । भीडभाड नगर्ने र रमाइलोका लागि एकै ठाउँमा नाचगान गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।  

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार थारू समुदाय यसको तयारीमा जुटेका हुन् । गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान कुटानपिसान र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहन्छन् । ढिर्की पकाउने, अनदीको विशेष झोल, अनदीको रोटीलगायत विशेष मीठामीठा परिकारको जोहो माघमा गर्ने चलन छ ।  

माघीको अघिल्लो दिन रातभर आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर ९कोसेली०का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो  । 

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर ९थारू भाषामा जिता मार्ना० मारेर बराबर बाँड्ने चलन छ ।  माछासँगै गङ्गटा र घुँगीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार  र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारूले बताउनुभयो । 

थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरु गर्ने चलन छ । “माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ”, थारूले भन्नुभयो ।

प्रकाशित : २२ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६