नेपालगन्ज २७ पुस।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधवकुमार नेपालले पार्टी र सरकारलाई संकटतर्फ धकेलेपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभएको छ । उहाले दाहाल(नेपालको पद लोलुपताका कारण पार्टी गम्भीर मोडमा पुगेको बताउनुभयो ।
सोमबार बाँकेको खजुरामा आयोजित आफ्ना पक्षका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री भइसकेका दाहाल, नेपाल र अर्का नेता झलनाथ खनालका गतिविधिका कारण नेकपामा संकट आएको आरोप लगाउनुभएको छ ।उहाले दाहाल नेपाल र खनाललाई त्रिमूर्तिको संज्ञा दिदै उनीहरु नेकपाको म्यूजिएममा थन्काइए मात्र समस्याको सामाधन हुने स्पष्ट पार्नु भएको छ । प्रधानमन्त्री ओलीले अवको नेतृत्व यूवालाई दिने घोषणा गरी सकेको वताउदै त्रिमुर्ति अझै पदलोलुप रहेको औल्याउनु भयो ।
उहाले नेकपाबाट अझै पनि कसैलाई नहटाएको जनाउनुभयो । तर, दाहाल नेपाल पक्षले भने आफैं पार्टी फुटेको घोषणा गरी विभिन्न गतिविधि गरेको बताउनुभएको छ । पछिल्लो समय बाँकेमा प्रधानमन्त्री ओली र दाहाल नेपाल पक्षले विभिन्न कार्यक्रमहरु आयोजना गरी कार्यकर्ता तान्ने प्रयास गरिरहेका छन् । वडासम्मै दुवै पक्षले कमिटी गठन गरिरहेका छन् । त्यही क्रमलाई ओली पक्षले बाँकेमा जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरेको हो ।
मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटन संवैधानिक रहेको दाबी गर्नुभयो । उहाले प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार नै जनताको नयाँ जनादेशका लागि प्रतिनिधिसभा विघटन गरिएको दाबी गर्नुभएको छ । पछिल्लो सयम दाहाल र नेपाल पक्षले प्रधानमन्त्री ओलीले लोकतन्त्रको पक्षमा नरहेको अभिव्यक्ति दिएकोप्रति उहाले कडा प्रतिवाद गर्नुभयो ।
प्रतिक्रिया