अर्थ-वाणिज्य

दाङका किसानले व्यावसायिक घाँसखेतीाबाटआम्दानी बढाउदै



देउखुरी, ११ माघ । दाङका किसानले व्यावसायिक वरसिम घाँसखेतीाबाट राम्रो आम्दानी गर्न थालेका छन् । घोराही उपमहानगरपालिका –६ का किसान पछिल्लो समयमा घाँसखेतीतिर आकर्षित भएका छन् । घाँसबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश गाउँमा वरसिम घाँस खेती गरिएको छ । ‘ग्रीन गोल्ड’ खेती जाडोको मौसममा पशुको दुग्ध उत्पादनका लागि अत्यन्तै लाभकारी मानिन्छ ।  घोराही –६ का श्रीधर अधिकारीले आफ्नो दुई बिघा खेतमा हिउँदका समयमा तोरी, मसुरो र गहुँको साटो वरसिम घाँस लगाउने गरेको बताउनुभयो । उहाँले यसरी घाँस लगाउन थालेको चार वर्ष भयो ।

हरियो हँुदा काटेर गाईभैँसीलाई खुवाउन पनि हुन्छ । सुकेको डाँठलाई पनि खुवाउन पाइने र फल लाग्यो भने बिक्री गर्न पाइने यो अत्यन्तै उपयोगी घाँस हो । “व्यावसायिक रुपमा चार वटा गाई पालेको छु, त्यसका लागि घाँस खोज्न भौँतारिनु परेको छैन, सजिलै आफ्नै खेतबारीबाट प्राप्त गर्न सकिने भएकाले समयको बचत पनि भएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार एक बिघा खेतबाट एक याममा रु  एक लाख आम्दानी हुन्छ । उहाँले गत वर्ष वरसिम घाँसको बीउ गत वर्ष रु एक लाख पचास हजारमा बेच्नुभएको थियो । 

घोराही– ६ का सीताराम चौधरीले पनि आफ्नो १८ कठ्ठा खेतमा ‘घाँसको राजा’ वरसिम लगाउनुभएको छ । “घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, अहिले सजिलो भएको छ”, चौधरीले भन्नुभयो । हिउँदमा वरसिम घाँस एक पटक लगाएपछि एक याममा चारदेखि ६ पटकसम्म काट्न सकिन्छ । घाँस लगाउँदा त्यसले धान उत्पादनमा समेत वृद्धि हुने उहाँको अनुभव छ । बीउ छरेपछि गोडमेल गर्न र स्याहार्न झञ्झटिलो नभएकाले घाँसखेतीमा आकर्षण बढेको हो । वर्षात्का समयमा लगाइएको धान काट्नुभन्दा अगाडि तोरी, मसुरो छरे जस्तै गरेर सो घाँसको बीउ छरिन्छ ।

घाँस उम्रँदा धान काटिसकेको हुनुपर्छ । कसैले यसलाई खेत जोतेर पनि छर्ने गरेका पनि छन् ।   घोराहीमा सबैले नजोतेरै छर्ने गरेका छन् ।  हरियो र सुकेको वरसीम घाँस गाईवस्तुलाई खुवाउन एकदमै राम्रो मानिन्छ । घोराही –६ का कृषकले आठ  कठ्ठादेखि साढे दुई बिघा जमीनमा  खेती गरेका छन् । अन्य बालीभन्दा धेरै फाइदा हुने भएपछि यसतर्फ किसानको आकर्षण बढेको हो । मसुरो, गहुँ खेतीभन्दा घाँसबाट बढी आम्दानी हुने भएपछि यतातिर लागेको किसानको भनाइ छ । वागवानीअन्तर्गत तरकारी, फलफूल, फूल र घाँस खेती पर्छन् । 

  घोराही– ६ का गुरुवागाउँ, गुरगै, वेरुवागाउँ, जजरागाउँ, वेरगै, फचकपुर र अघरा गाउँका किसानले वरसीम घाँसखेती गरेका छन् । अहिले उक्त क्षेत्रमा रहेका १५० घरपरिवारले घाँस खेती गर्ने गरेको शिवशक्ति घाँसको बीउ उत्पादक सङ्घका सचिव विमल अधिकारीले जानकारी दिनुभयो । लगानी कम र आम्दानी राम्रो हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको अधिकारी बताउनुहुन्छ । जोत्न नपर्ने, मल दिनु पनि नपर्ने, धानमा हालेको मलले काम गर्ने भएकाले मलको बचत हुन्छ । पटक पटक सिंचाइ पनि गर्न नपर्ने भएकाले कृषकलाई थप सहज हुने गरेको छ । 

घाँसका लागि भाँैतारिनु नपर्ने खेतबारीबाट सजिलै पाउन सकिने भएपछि हरेक वर्ष यसका किसानको सङ्ख्या बढ्दै गएको शिवशक्ति  उत्पादक सङ्घले जनाएको छ ।  सङ्घका अनुसार अहिले १२५ हेक्टरमा वरसिम घाँस खेती गरिएको छ ।  व्यावसायिक रुपमा वरसीम घाँसखेती गर्ने दाङ पहिलो जिल्ला हो ।  कृषकले एक किलो घाँसको बीउ रु दुई सयमा बिक्री गरेका छन् । बीउ उत्पादक सङ्घले सरकारले निर्धारण गरेको मूल्यअनुसार नै बिक्री गर्ने गरेको छ । ग्रेडिङ गरेर प्रतिकिलो रु दुई  सयदेखि २५० सम्ममा बिक्री गर्ने गरिएके छ ।

प्रतिकठ्ठा  ३० देखि ३५ केजी सम्म घाँसको बीउ उत्पादन हुने गरेको छ । खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको पाइन्छ ।  घाँस खेतीबाट गत वर्ष रु ५० लाख बराबरको बीउ सङ्घबाट बिक्री भएको सचिव अधिकारीले बताउनुभयो । केही किसानले आफँै बाहिर लगेर बिक्री गर्ने गरेका छन् । किसानले आफँै बिक्री गरेको रकम जोड्दा धेरै हुने उहाँ बताउनुहुन्छ । यस वर्ष वरसिम घाँसको बीउ करीब रु  ८० लाखको बिक्री हुने उहाँको अनुमान छ ।

वरसिम घाँसको बीउ उत्पादनका लागि उपयुक्त हावापानी भएको दाङ जिल्लामा व्यावसायिकरुपमा उत्पादन भएको घाँसको बीउ मोरङ, सर्लाही, चितवन, नवलपरासी, रुपन्देही, कास्की, पाल्पा, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, प्युठान, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा बिक्री हुने गरेको सचिव अधिकारीले बताउनुभयो । 

साविक सौडियार गाविस हाल घोराही –६ मा २०५६ सालदेखि व्यावसायिक रुपमा घाँस खेती शुरु गरिएको  हो । हिउँदे घाँस वरसिमलाई असोजदेखि मङ्सिरसम्म छरिसक्नुपर्छ । पुस, माघ र फागुनमा गाईँभैसीलाई खुवाउन र पोषणका लागि उत्तम मानिन्छ । यो घाँस गाई, भँैसी, बाख्रा  र कुखुराले राम्रो मानेर खाने गरेका पाइन्छ । यसका हरियो र  सुकेको डाँठ  दुवै खुवाउन सकिन्छ ।  जिल्लामा गाई, भंैसी र बाख्राको व्यावसायिक पालन बढ्दै गएपछि अर्थोपार्जनका लागि  केही किसानले घाँस मात्रै  खेती गरेको पाइन्छ । यो घाँस पशुका लागि पोषणयुक्त हुने गरेको प्रमुख केसीको भनाइ छ । 

  अहिले दाङ वरसिम घाँसको बीउ पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । अन्य जिल्लामा हावापानी नमिल्दा यसको बीउ उत्पादन नहुने भेटेरनिरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले जानकारी दिनुभयो । बीउका लागि दाङ उपयुक्त वातावरण भएको उहाँको पनि भनाइ  छ  ।  

दाङमा  तुलसीपुर, सतबरिया, गढवा, लालमटिया, गङ्गापरस्पुर, लक्ष्मीपुर, सौडियार, घोराही र  नारायणपुर क्षेत्रमा व्यावसायिक घाँस खेती हुने गरेको छ ।  दाङमा नेपियर, मकैचरी, जै, भेजलगायत जातका घाँस खेती भए पनि हावापानी राम्रो भएकाले वरसिम फस्टाएको छ ।  पछिल्लो समयमा जिल्लाका स्थानीय तहले पशुपालक किसानलाई अनुदानमा वरसिम घाँसको बीउ वितरण गदँै आएका छन् । बीउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नतजातका पशुपालन गर्नेको सङ्ख्या बढ्दै गएको पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । 

प्रकाशित : ११ माघ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६