प्रदेश

संवैधानिक आयोगका नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्ने तयारी



काठमाण्डौ २१ माघ । संवैधानिक आयोगहरुमा गरिएका नियुक्तिको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गर्ने तयारी गर्नुभएको छ ।नियुक्तिको सिफारिसलाई सदर गर्नका लागि अहिले राष्ट्रपति कार्यलय शितल निवासमा तयारी भैरहेको कार्यलयका प्रवक्ता जगन्नाथ पन्तले उज्यालोलाई जानकारी दिनुभयो । केहीबेरमा नियुक्तिको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गर्नुहुने र नियुक्ती लगत्तै बिहान ११ बजेभित्रमा सबैजनालाई शपथ खुवाउने कार्यक्रम रहेको प्रवक्ता पन्तको भनाइ छ ।

संवैधानिक परिषद् बैठकले गरेको सिफारिसअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित दुई जना सदस्यको नाम सिफारिस छ । प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राई र आयुक्तहरूमा पूर्वएआईजी जयबहादुर चन्द र उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायाधीश किशोर सिलवालको नाम सिफारिस भएको थियो । त्यस्तै मानवअधिकार आयोगमा सर्वोच्चका पूर्वन्यायाधीश तपबहादुर मगर र महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुलीको नाम नियुक्तिका लागि सिफारिस भएको छ ।

संवैधानिक परिषदले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर, संसदीय सुुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी भएको भन्दै शपथ रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदना पेस गर्नुभएको छ । संवैधानिक परिषद्ले नियुक्ति सम्बन्धमा गर्ने सिफारिस संसदीय सुनुवाइ समितिमा पेस हुनुपर्ने बाध्यात्मक व्यवस्था संविधानको धारा २९२ ले गरेको छ ।यसअघि सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाउनुभएको थियो ।

विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको लागि परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिनुभएको हो ।सरकारले गएको पुस ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत अध्यक्षसहित तीन सदस्य मात्र उपस्थित भए पनि निर्णय गर्न सक्ने व्यवस्था गरेर संवैधानिक निकायमा नियुक्ति गरेको थियो । बैठकमा परिषद् सदस्यसमेत रहनुभएका विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा उपस्थित हुनुभएको थिएन ।

प्रकाशित : २१ माघ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६