वाँके २४ माघ । बाँके राष्ट्रिय निकुञ्जमा अवैध रुपमा हतियारसहित प्रवेश गरेको आरोपमा नौ जना पक्राउ परेका छन् । बिहीबार बिहान ३ देखि ७ बजेका बीचमा बाँके राष्ट्रिय निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएको नेपाली सेना, श्री श्रीमेहर गणले संयुक्तरुपमा अपरेसन खैरीकोट सञ्चालन गरी निकुञ्जमा हतियारसहित प्रवेश गर्ने नौ जनालाई सात थान हतियारसहित नियन्त्रणमा लिन सफल भएको निकुञ्जका सूचना अधिकारी महेश न्यौपानेले बताउनुभयो ।
यसैबीच इलाका प्रहरी कार्यालय कोहलपुरले सिम्रीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । कोहलपुर नगरपालिका– १३ सिम्री गाउँ नजिकै जंगल छेउमा रहेको उक्त ओढारमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बरामद गरिएको हो । कोहलपुर प्रहरीले १५ दिने ‘स्वीप अपरेसन’ अभियान सञ्चालनको सुरुआती चरणमै भरुवा बन्दुक बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ ।
यता दाङको घोराहीमा पक्राउ परेका सात जुवाडे माथि कानुनी कारवाही हुने भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घोराही उपमहानगरपालिका वडा नं. ७ तेघरा गाउँमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।उनीहरूको साथबाट दुई लाख २० हजार सात सय रकम पनि बरामद भएको एसपी चन्दले बताए।
पक्राउ पर्नेमा घोराही ९ का ३८ वर्षीय प्रज्वल शाह, सोही ठाउँका ५४ वर्षीय होमबहादुर केसी, घोराही २ का २३ वर्षीय रोहन खाती, घोराही १६ का ३३ वर्षीय धिरण शाह, घोराही १३ का २० वर्षीय सुनिल पुन मगर, घोराही ७ का २२ वर्षीय पंकज पन्त र रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ का २२ वर्षीय विजय गाहा मगर रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।
पक्राउ परेकाविरूद्ध जुवा ऐनअन्तरगत मुद्दा चलाएर कारबाही गरिने प्रवक्ता रिजालले बताए। तेघरा गाउँमा लामो समयदेखि जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी गएराति छापा हानेर उनीहरूलाई पक्राउ गरेको रिजालले बताए ।
प्रतिक्रिया