बुटवल, ३० माघ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस लुम्विनी प्रदेशको स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।यही फागुन २ गते आईतवारदेखि ४ गते बुधबारसम्म मनाईने स्थापना दिवसको मूल समारोह दाङको देउखुरीमा गर्ने गरी तयारीको काम भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी स्थापना दिवस तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षकमा प्रदेशस्तरीय कविता प्रतियोगिता हुने बताउनु भयो । त्यसैगरी मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ ।
मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरु लगायतको सहभागिता रहने भएको छ ।त्यस्तै प्रदेश राजधानी र जिल्ला सदरमुकामहरुमा रक्तदान हुने भएको छ भने सोही दिन प्रदेशस्थित सबै सरकारी, सामुदायिक संघ संस्था, वित्तीय संघ संस्थाहरुको कार्यालयमा दिपावली गरिने छ ।
त्यस्तै ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफूलका विरुवा रोप्ने कार्यक्रम समेत तय भएको छ । स्थापना दिवस मूल समारोहमा प्रदेश सरकारले वितरण गर्दै आएको विभिन्न पदक पनि प्रदान गरिने छ ।
त्यसैगरी लुम्बिनी प्रदेश सरकारले चैत १९ र २० गते प्रदेश लगानी सम्मेलन गर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले चैत्र १९–२० गते प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो । यसअघि गत वर्ष नै लगानी सम्मेलन गर्ने सरकारले निर्णय गरेपनि कोभिड १९ का कारण स्थगित भएको थियो ।
बैठकपछि मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक विकास मन्त्री बैजनाथ चौधरीले कोभिडका कारण स्थगित भएको लगानी सम्मेलन चैत्रमा गर्ने निर्णय भएको जानकारी दिनुभयो । लगानी सम्मेलनको अवधारणापत्र तयार गर्न प्रदेश सरकारले बिभिन्न समितिहरु गठन गरेको पनि मन्त्री चौधरीले बताउनुभयो ।
निर्वाचन आचारसंहिताले रोकेको अवस्थामा बाहेक स्थगित लगानी सम्मेलन चैतमा गर्न लागिएको उहाँको भनाई छ । यस्तै मन्त्रिपरिषदको बिहिबार बसेको बैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा पाल्पाका झपिन्द्र जिसी र जनसम्पर्क सल्लाहकारमा दाङका छबिलाल ओलीलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया