रुपन्देही १फागुन । नेपाल सरकारका उर्जामन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्ड समूहले गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको बताउनुभयो । प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले मूलधारबाट पूर्व माओवादीका दुई मन्त्री हामीतिरै आउँदै छन् भनेर प्रचण्डले गलत प्रचार गरेको बताउनुभयो । मूलधारबाट जाने नभइ मूलधारतिर फर्कनेको संख्या बढेको उहाँले बताउनुभयो । उहाँले प्रचण्ड–माधवलाई छाडेर स्थायी कमिटीका आधा दर्जन नेतासहित ठुलो संख्यामा साथीहरू मुलधारको नेकपामा आउने तयारी भएको समेत बताउनुभयो ।
मन्त्री रायमाझीले भन्नुभयो – ‘यतिसम्म भ्रम छर्नुभयो कि लौ ओलीले बनाएका २ जना पूर्व माओवादीतर्फका मन्त्री आउँदै छन्, बरू म भन्छु कतिपय स्थायी कमिटीका साथीहरूसँग मेरो कुरा भएको छ उहाँहरु – मूलधारमा आउन खोज्दै हुनुहुन्छ, हेर्दै गर्नुस् पूर्व माओवादीको गड भएका ठाउँमा पनि पहिरो जान्छ ।’पद र प्रतिष्ठामा लागि अन्धो भएको प्रचण्ड समूहका नेताको काम भ्रम छर्ने मात्र भएको उहाँले बताउनुभयो । मन्त्री रायमाझीले भन्नुभयो – ‘उहाँले विचार सिद्न्त सबै छोड्नुभयो, पद प्रतिष्ठा बाहेक केही देख्नुभएन ।’मन्त्री रायमाझीले प्रचण्ड समूहलाई चुनावप्रति विश्वास नरहेको बताउनुभयो । ‘ठगेर, ढाँटेर र अलिअलि ठोकठाक गरेर, ढुंगामुढा गरेर खाने बानी परेका हाम्रा साथीहरूलाई चुनावप्रति विश्वास छैन, त्यसैले उहाँहरू चुनावसँग डराउनु भएको छ ।’
देश चुनावमा होमिसकिएको भन्दै उहाँले प्रतिपक्षी कांग्रेस र मधेसवादी दल चुनावका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘कांग्रेसका साथीहरू तयारीमा लागेका छन्, मैले एयरपोर्टमा १/२ जना कांग्रेसका साथी भेटेको थिएँ, सरकारको उहाँहरूले भन्नुभयो समर्थन गरे त ओलीको पार्टी भन्छन् नि देखाउन मात्र विरोध गरेका हौं ।’प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ भनेर केही मिडिया र प्रचण्ड समूहले भ्रम छरेपनि पुर्नस्थापना नहुने उहाँले बताउनुभयो ।
पद–प्रतिष्ठाका लागि सडकमा गएर चिच्याएको प्रचण्ड समूहको जाने ठाउँ सकिएको उहाँले बताउनुभयो । ‘सडकमा गएर चिच्याउनु भएको छ कहीँ जाने बाटो छैन, उहाँहरू कि केपी ओलीलाई अध्यक्ष मानेर बस्न प¥यो, कि चोइटिएर जानुप¥यो, कि चुनाव बहिष्कार गर्नुप¥यो, कि मोहन वैद्यसँग एक हुन जानुप¥यो’उहाँले भन्नुभयो ।
केपी ओलीलाई समाप्त पार्न खोज्दा प्रचण्ड(माधव सडकमा पुग्नुभएको उहाँले भन्नुभयो – ‘विपक्षको काँधमा चढेर भरूवा थोत्रो बन्दुक लिएर केपी ओलीलाई सुट गर्न खोज्नुभएको थियो, तर त्यो निशाना उहाँहरूतिरै लाग्यो, आफै पल्टिनुभयो र सडकमा पुग्नुभयो, केपी ओलीले बुद्धि र विकेकको हतियारले उनीहरूको षड्यन्त्र असफल पार्नुभयो ।’ भेलाले पत्रकारको हकहितको लागि १३ वुँदे घोषणा पत्र जारी गरेको छ । जनपक्षिय र श्रमजीवी पत्रकारहरुको अगुवा संगठन प्रेस संगठनले पाटी र सरकारलाई चौतर्फी घेराबन्दी गरिएपछि प्रतिनिधि सभा बिघटन गरि निर्वाचनमा जाने पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बाध्यात्मक र सोहि भएको ठहर गरेको छ ।
उक्त कदमको भेलाले स्वागत गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्बद्र्धनका लागि अझ दृढतापुर्वक लाग्ने भेलाले प्रतिवद्धता जाहेर गरेको छ । समृद्ध नेपाल , सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा गर्न सञ्चार क्षेत्रबाट प्रयाप्त सघाउ पुरयाउने प्रतिवद्धता व्यक्त गर्दै जिम्मेवार तवरले कलम चलाउन भेलाले अपिल गरेको छ । समृद्ध राष्ट्रनिमार्णका लागि सरकारले गरेका जनपक्षिय कार्यहरु ओझेल परेको महशुसगर्दै विकास निमार्णका कामलाई पुर्वाग्रह विहिन भई तथ्यका आधारमा यर्थात् वाहिर ल्याउने काममा लाग्न अपिल गरेको छ । सञ्चारमाध्यममा न्युनतम पारिश्रमिक लागु नभएको पाइएकोले तत्काल लागु गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
सञ्चार उपकरणमा सहयोग , अनुदान तथा पत्रकारको क्षमता विस्तारमा सघाउन विभिन्न ३ तहका सरकारलाई भेलाले अनुरोध गरेको छ । पछिल्लो समय सकृय अस्तित्वमा रहेका अनलाईन मिडियाहरुलाई व्यवस्थित , नियमनसँगै प्रोत्साहनका लागि भेलाले आग्रह गरेको छ । भेलाले लुम्बिनी प्रदेशको आर्थिक विकासका लागि सञ्चार क्षेत्रबाट सघाउने प्रतिवद्धता जाहेर गरेको छ ।
प्रतिक्रिया