भैरहवा २ फागुन । नेपाली कांग्रेसले सोमवार ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ ।रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा कांग्रेसका बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरतकुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताउनु भयो ।
बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति कार्यक्रममा आउने बताउनु भयो । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उहाँको भनाई थियो । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन् सर्वसाधारण कार्यक्रममा सहभागी हुने उहाँले बताउनु भयो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजे देखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभाको आयोजना हुने जिल्ला सभापति रज्जाकले जानकारी गराउनु भयो ।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले ओली सरकार अहिले निरंकुश हुदै गएकोले त्यसैको बिरोध स्वरुप बिरोध कार्यक्रमहरुको आयोजना गरिएको बताउनु भयो । ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ ।
प्रतिक्रिया