अर्थ-वाणिज्य

भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै व्यवसायीको विरोध



चितवन १३ फागुन । भारतबाट मौरीको घार र गोला ल्याउन लागेको भन्दै कृषक एवं व्यवसायीले विरोध जनाएका छन् । यसबाट यहाँको उत्पादन र उद्योग प्रभावित हुने उनीहरुको भनाइ छ ।नेपाल मौरीपालक महासङ्घ केन्द्रीय समिति, नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घ र नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले कृषि तथा पशुपक्षीमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै घार र गोला ल्याउन नदिन अनुरोध गरेका छन् । ती संस्थामध्ये एउटाको केन्द्रीय कार्यालय चितवन रहेको छ भने दुईवटाको काठमाडौँमा रहेको छ । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले बुधबार ज्ञापनपत्र इमेलमार्फत पठाइएको र आज प्रत्यक्षरूपमा बुझाइने बताउनुभयो ।

 ती संस्थाले मन्त्रालयका दुवै जना सचिव, कृषि विभाग हरिहर भवन, पशु सेवा विभाग पशु क्वारेन्टिन महाशाखा हरिहर भवन र व्यावसायिक कीट विकास केन्द्रलाई बोधार्थ दिँदै ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मौरीको घार र गोला ल्याउन रोक लगाउनुको कारणसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा भारतका मौरीमा प्रशस्त कास्मिरी सुलसुले अर्थात माइटजस्ता परजीवी रोग लागेर त्यहाँ दुःख दिइरहेको भन्दै नेपालमा भित्रिएमा रोग फैलने उल्लेख छ ।

त्यहाँबाट ल्याउँदा ती रोग आउन सक्ने भन्दै भारतको मौरीमा युरोपीयन फाउल ब्रुडसमेत देखिएको जनाइएको छ । यो रोग युरोपमा निकै फैलिएको र लाखौँ मौरीगोला नष्ट गरिएको ज्ञापनपत्रमा जनाइएको छ ।  यस रोगको निवारणका लागि सल्फरले उपचार गर्नुपर्ने र यसरी उपचार गरी उत्पादन गरिएका मह विकसित देशले प्रतिबन्ध लगाएकाले मौरीजन्य सामग्री ल्याउँदा त्यो पनि सँगै आउने विज्ञप्तिमा उल्लेख छ  । नेपालमा अहिलेसम्म यस्तो औषधिको प्रयोग नगरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ “यस विषादीले मौरीका बच्चा र लार्भा कुहाउँछ ।”

 भारतबाट ल्याइएको मौरीको घार र फ्रेममा प्रयोग गरिएको एन्टिबायटिक सल्फर मौरीको घार, गोला ल्याउँदा नेपाल भित्रिने र व्यवसाय धराशायी बन्ने जनाइएको छ । भारतबाट आउने उपजाति फरक प्रकारको भएकाले नेपालका मौरीको वंश संरक्षणमा के कस्तो असर गर्छ भन्ने विषयमा अध्ययन भएपछि र विज्ञ र एशोसिएशनले सहमति दिएपछि मात्र नेपाल भित्र्याउनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।भारतबाट १० हजार गोला मौरी ल्याउन मन्त्रालयमा निवेदन परेपछि रोक्नुपर्ने मागसहित ती सङ्घ संस्थाले ज्ञापनपत्र बुझाएका हुन् । नेपालमा विसं २०५० बाट  व्यावसायिक मौरीपालन शुरु गरिएको हो । हाल एक लाख ७० हजार मौरीघारबाट वार्षिक ४५ हजार मेट्रिक टन मह उत्पादन हुँदै आएको महासङ्घले जनाएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६