बुटवल १४ फागुन ।पाल्पा उद्योग वाणिज्य संघले रुपन्देहीका उद्योगीहरुसंग पाल्पा जिल्लामा लगानी गर्न आग्रह गरेको छ । रुपन्देही उद्योग संघको संघसंस्था अवलोकन भ्रमण टोली शुक्रवार पाल्पा पुगेको अवसरमा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले पाल्पामा रहेको पर्यटन क्षेत्रको सम्भावनाको विषयमा समेत जोड दिनुहुँदै रुपन्देहीका उद्योगीहरुलाई पाल्पामा लगानी गर्न आग्रह गर्नुभएको हो ।
रुपन्देही उद्योग संघले संस्थागत सम्बन्ध विस्तार, अनुभव आदान प्रदान र व्यवसायिक प्रवद्र्धनको उद्देश्यले संघले विगत लामो समयदेखि आयोजना गर्दै आएको संघसंस्था अवलोकन भ्रमण कार्यक्रम अन्तर्गत यसवर्ष संघको टोली पाल्पा भ्रमणमा गएको हो । रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोली पाल्पा उद्योग वाणिज्य संघको सचिवालयमा भेटघाट तथा अन्तरक्रियामा सहभागी भएको थियो ।
कार्यक्रममा बोल्नुहुँदै रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले संघको स्थापना, औद्योगिक विकासका निम्ति संघले खेल्दै आएको भूमिका र आगामी योजनाहरुबारे प्रकाश पार्नुहुँदै भ्रमणले दुवै संस्थाबीचको सम्बन्ध थप प्रगाढ बन्ने, अनुभव साटासाटले संस्थागत विकासमा टेवा पुग्ने र औद्योगिक गतिविधिमा समेत बृद्धि हुने विश्वास लिएको बताउनु भएको थियो । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले रुपन्देहीका उद्योगी व्यवसायीलाई पाल्पामा स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै यस सम्बन्धलाई निरन्तर प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिनुभएको थियो ।
वहाँले कार्यक्रममा बोल्नुहुँदै पाल्पा जिल्लाको औद्योगिक एवं व्यावसायिक गतिविधि र संघ संस्था क्रियाकलाप सम्बन्धमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तेजकुमार पाठक र बोनिन पियाले संघसंस्था अवलोकन भ्रमणका क्रममा विगतका अनुभव र उपलब्धीहरु सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो । अन्तक्र्रियामा पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हरि रायमाझीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा भ्रमण कार्यक्रमको उद्देश्य माथि रुपन्देही उद्योग संघका संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक माधवप्रसाद पौडेलले प्रकाश पार्नु भएको थियो ।
दुबै संस्थाका अनुभव आदान प्रदान, आन्तरिक पर्यटन प्रवद्र्धन र सम्बन्ध विस्तारको उद्देश्यले आयोजित कार्यक्रम अन्तर्गत पाल्पामा रहेका ऐतिहासिक क्षेत्रहरु, ढाका तथा करुवा उद्योगहरु र धार्मिक क्षेत्रहरुको समेत अवलोकन गर्ने कार्यक्रम रहेको संघका महासचिव जिवकान्त काफ्लेले बताउनु भएको छ ।
प्रतिक्रिया