अर्थ-वाणिज्य

तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रियो



काठमाडौं १ चैत्र । उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रिएको छ ।तातोपानी नाकाबाट यस अघि खाद्यान्न, लत्ताकपडा, इलोक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेको भए पनि यो साता भने ८० हजार बोरा अर्थात ४ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङको लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले रासायनिक मल भित्र्याएको हो । चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट कन्टेनरमार्फत मल ल्याइएको हो ।तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले गत फागुन २३ गते पहिलो पटक सो नाकाबाट रासायनिक मल नेपाल भित्रिएको बताउनु भयो । अहिलेसम्म २ सय ८० टन युरिया मल आइसकेको छ । हरेक दिन ४९५ वटा कन्टेनरमा रासायनिक मल आइरहेको प्रमुख खत्रीले बताउनु भयो । आयात गर्दा प्रयोग हुने कन्टेनरको सुविधा राम्रो भए १ महिनामा सबै मल आइसक्ने प्रमुख खत्रीले बताउनु भयो ।

उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकहरूले समयमै प्रयोग गर्न पाउने भएपछि रासायनिक मल आयात गरेको सिल्क ट्रान्सपोर्टका अध्यक्ष रमेश शेर्पाले बताउनु भयो । कम्पनीले प्रति मेट्रिकटन करिब २० करोड नेपाली रुपैयाँमा मल ल्याएको छ । चीनबाट ५ दिनमा नाकासम्म र ७ दिन भित्र काठमाडौंसम्म मल ल्याउन सकिने अध्यक्ष शेर्पाले बताउनु भयो ।सुुरुमा परीक्षणका लागि सानो परिमाणमा ४ हजार टन मल नेपाल ल्याइएको हो ।कृषि मन्त्रालयका सहसचिव काञ्चनराज पाण्डेले उत्तरी नाकाबाट मल ल्याउँदा कृषकहरूलाई मूल्यमा प्रतिकेजी २ देखि ३ रुपैयाँ सस्तो पर्ने बताउनुभयो । तातोपानी नाकाबाट भित्रिएको मल सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप लगायत पहाडी जिल्लाका किसानले छिट्टै प्रयोग गर्न पाउने छन् ।

चीनबाट मल ल्याउन पहिलोपटक साल्ट ट्रेडिङले आह्वान गरेको ग्लोबल टेन्डर मार्फत सिल्कले अनुमति पाएको हो । भारत हुँदै ल्याउने बिकल्पमा अहिले तातोपानी नाकाबाट मल ल्याउन थालिएको हो । तातोपानी नाकाबाट मल आउन सके किसानलाई समयमै सहज मल उपलब्ध गराउन सकिने कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले बताउनु भयो । हाल किसानले प्रतिकेजी करिब १८ रुपैयाँमा मल खरिद गर्न पाउनेछन् । बंगलादेशबाट जीटुजीमार्फत् मल आयात भइरहेको र तातोपानी नाकाबाट पनि मल आयात सुुरु भइसकेकाले आगामी वर्ष किसानलाई मल अभाव नहुने दावी महानिर्देशक डा. शर्माले गर्नु भयो ।

आयात गरिएको प्रत्येक कन्टेनरमा ५ सयवटा बोरा हुन्छ । एउटा बोरामा ५० केजी युरिया मल हुन्छ । मलको प्रतिबोरा औसत खरिद मूल्य २ हजार ३ सय २२ रूपैयाँ ४४ पैसा छ । १ हजार ४ सय ३३ रुपैयाँ ७७ पैसा अनुदान सहित काठमाडौं, बनेपा, बिदुरका किसानले ८ सय ८८ रुपैयाँ ६७ पैसा प्रतिबोरामा मल खरिद गर्न पाउनेछन् । भूकम्पपछि ठप्प भएको तातोपानी नाका गत वर्षदेखि सामान्य रुपमा सञ्चालनमा आएको हो । नाकाबाट दैनिक १४ कन्टेनर सामान पनि आयात भइरहेको छ । अहिले सबैभन्दा बढी मल आयात भइरहेको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीले अहिले मलको मात्र आयात गर्ने गरेको छ ।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६