बुटवल १३ चैत ।मुख्यमन्त्री शंकर पोखरेलले खर्च हुन नसक्ने बजेट शीर्षक र रकमको विवरण दुई साताभित्र पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिनुभएको छ ।प्रदेश विकास समस्या समाधान समितिको बैठक एंव दोश्रो चौमासिक प्रगति समीक्षा बैठक समापनमा आज बोल्दै उहाँले खर्च गर्न नसक्ने शीर्षकको बजेट काम भएर रकम अभाव भएका कार्यक्रममा खर्च गर्ने गरी अघि बढ्ने बताउनुभयो ।
कतै बजेट खर्च नहुने कतै बजेट अभाव हुने प्रवृति अन्त्य हुनुपर्छ—उहाँले भन्नुभयो ।उहाँले विकास आयोजनाहरुको डिपिआर तयार गर्दा आवश्यकता, बजेटको क्षमता र औचित्यका आधारमा तयार गर्न निर्देशन दिनुभयो । अस्पताल, रंगशाला, सडक लगायत विकास आयोजनाहरुको डिपिआर तयार हुने तर बजेटले नभ्याउने प्रवृतिको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो । बहुवर्षीय आयोजनालाई बजेट अभाव हुन नदिने गरी मन्त्रालयहरुले प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
आर्थिक वर्षको अन्तिम चार महिना बजेट कार्यान्वयनको महत्वपूर्ण समय भएकाले कामको गति अझै बढाउन र अनुगमनमा जोड दिन उहाँले आग्रह गर्नुभयो । अनुगमनमा जाँदा स्थानीय सञ्चारमाध्यमलाई अनिवार्य जानकारी दिनुस्,यसो गर्दा बढी जवाफदेही र जिम्मेवारी बन्न बल पुग्छ, नागरिकले विकास आयोजनामा भइरहेको काम बारे पनि जानकारी पाउँछन् —उहाँले भन्नुभयो ।
उहाँले बजेट खर्च गर्ने क्षमता बढाउन र स्थानीय तहको क्षमता बढाउने गरी तालिम कार्यक्रम सञ्चालन गर्न निर्देशन दिनुभयो ।उहाँले कृषिका कार्यक्रम सिधै किसानको दैलोमा पुग्न सक्दा मात्रै उत्पादन बढ्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।मन्त्रालय र मातहतका निकायको दुई दिनदेखि चलेको दोश्रो चौमासिक समीक्षा सकिएको छ ।
प्रतिक्रिया