लुम्बिनी

लुम्बिनीमा एक सयभन्दा बढी बालबालिका संक्रमित



लुम्बिनी ५ बैशाख । रूपन्देही, दाङ, बाँके, कपिलवस्तुलगायत जिल्लामा संक्रमित बढेका छन् । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, कोहलपुर, नेपालगन्जजस्ता मुख्य सहरमा ४ देखि १९ वर्षसम्मका बालबालिकामा संक्रमण बढिरहे पनि विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् ।पछिल्लो एक सातामा बाँकेमा १६ वर्षमुनिकै ५५ बालबालिकामा संक्रमण देखिएको छ । त्यो संख्या तीव्र रूपले बढ्दो छ । बाँकेका जनस्वास्थ्य प्रमुख धीरजंग शाहका अनुसार पाँच वर्षमुनिकै चार बालबालिकामा संक्रमण देखिएको छ ।

‘पहिलो चरणमा पाँच प्रतिशतभन्दा कम दर रहेको बाँकेमा दोस्रो चरणमा १२ प्रतिशतमा संक्रमण देखिएको छ,’ उनले भने, ‘विद्यालय, मन्दिर, चर्च, मस्जिद खुल्नु र त्यहाँ स्वास्थ्य सुरक्षा सतर्कता कमजोर हुनु नै मुख्य कारण होला ।’ बाँकेमा पछिल्लो एक सातामा ५ सय २७ जनामा संक्रमण देखिएकामा ५४र५५ जना बालबालिका रहेको उनले बताए ।रूपन्देहीमा १० दिनमा २ सय ८ जना संक्रमित देखिएकामा १६ वर्षमुनिका ५ जना छन् । २० देखि ४० वर्ष उमेरका एक सय जनामा कोरोना संक्रमण देखिएको छ । रूपन्देहीमा पछिल्लो एक साता सबैभन्दा धेरै संक्रमित बुटवल र तिलोत्तमाका छन् । पाँच बालबालिका पनि बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाभित्रकै रहेको जनस्वास्थ्य कार्यालयका कोभिड सहजकर्ता विवेक केसीले बताए ।

‘संक्रमित २ सय ८ जनामध्ये बुटवल उपमहानगरपालिकाका मात्र १ सय ४ जना छन्,’ उनले भने, ‘त्यही संख्याभित्र बालबालिका पनि छन् ।’ बुटवलका धेरै बालबालिका पढ्ने निजी र सामुदायिक विद्यालयमा स्वास्थ्य सतर्कता अपनाइएको छैन । विद्यालय पूर्ववत् अवस्थामै सञ्चालनमा छन् । स्वास्थ्य सतर्कतामा विद्यालय र स्थानीय तह दुवै उदासीन छन् । दाङको तुलसीपुर उपमहानगरपालिकामा चार बालबालिका संक्रमित छन् । आजको कान्तिपुरमा समाचार छ ।

रूपन्देहीको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को शनिबार बसेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय गरेको छ । डीसीसीएमसीका संयोजक एवं प्रजिअ आशमान तामाङले स्थानीय तहको कार्यपालिकाले आफ्नो क्षेत्रमा रहेका विद्यालयमा कोभिड संक्रमणको अवस्था विश्लेषण गरी स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको बताए । ‘सीसीएमसीको निर्णय पूर्ण रूपले पालना गर्ने पनि निर्णय भएको छ,’ उनले भने, ‘विद्यालयसँगै भारतसँगका नाकाहरूमा थप कडाइ गर्ने, कोभिड उपचार हुने अस्पतालको क्षमता वृद्धि गर्ने निर्णय पनि भएको छ ।

’लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दोस्रो लहरको कोभिड संक्रमण बालबालिकामा पनि बढ्दो देखिएको बताए । प्रदेशमा संक्रमित बालबालिकाको संख्या एक सयभन्दा बढी रहेको उनले बताए । ‘सात जनाको त आईसीयूमै उपचार भइरहेको छ,’ उनले भने, ‘बालबालिकामा मुख्यतः विद्यालयबाटै संक्रमण भएको देखिएको छ, थप खोज्दै छौं ।’

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६