अर्थ-वाणिज्य

एमाले बैठकले दियो घिमिरेलाई कपिलवस्तु इन्चार्जको जिम्मेवारी



काठमाडौ ११ बैशाख ।सत्तारुढ नेकपा (एमाले)ले १९ सदस्यीय स्थायी कमिटी गठन गरेकोछ । यस्तै कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई निष्कासन गर्ने निर्णय गरेको छ । यता नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तु जिल्ला ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य एवम एमालेकी केन्द्रीय सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ।नेताहरुको कार्यविभाजन गर्ने निर्णयसंगै यस्तो गरेको हो  । यस अघि जिल्ला इन्चार्ज रहनु भएको गिरधारीलाल न्यौपाने लुम्विनी प्रदेशको सह इन्चार्जमा बढुवा भएपछि घिमिरे कपिलवस्तु सहइन्चार्जवाट समेत बढुवा हुनु भएको हो । कार्य विभाजन अनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको एमाले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले कर्णाली प्रदेशसभामा पार्टीको ह्विप उल्लङ्घन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चार प्रदेशसभा सदस्यलाई पार्टी सदस्य र प्रदेशसभा सदस्य नरहने गरी कारवाही गरेको हो । बैठकले प्रदेशसभासद् प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई निष्काशन गरेको पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । 

कारवाहीमा परेकाहरु प्रदेशसभा सदस्य नरहेको जानकारी प्रदेशसभालाई जानकारी गराइने उहाले बताउनुभयो । बैठकले स्थायी कमिटीमा हेरफेर गरी  तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । त्यस्तै प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । जसअनुसार भूगोल, बिभाग र जनसंगठनको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैठकले अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदनमाथि प्राप्त सुझाव ग्रहण गरी एकीकृतरुप दिइएको उहाले बताउनुभयो । बैठकले समसामयिक विषयमा ११ बुँदे प्रस्ताव पारित गरेको छ । पारित प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ । मूल प्रवाहमा फर्कने नेता –कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले कोभिड १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले स्थानीय चूनावका लागि तयार रहन निर्देशन दिनुभएको थियो । त्यस्तै उहाले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिनुभएको छ ।  

प्रकाशित : ११ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६