पोखरा, ५ मङ्सिर
हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघुलसहित रामघाट क्षेत्रमा बढि मात्रामा भक्तजन देखिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताउनुभयो । मेला हेर्न कास्कीका विभिन्न स्थानसहित स्याङ्जा, पर्वत, तनहुँ लगायत छिमेकी जिल्लाबाट भक्तजन सेती किनारमा पुगेका थिए । तुलसीघाटमा आयोजना गरिएको तुलसी विवाह महोत्सवलाई हर्षोल्लास तथा व्यवस्थित रूपमा मनाउन नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिलगायत सामाजिक, सङ्घसंस्था र स्थानीय तहको सहभागिता थियो । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु हरिबोधिनी एकादशीका दिन जाग्ने धार्मिक विश्वास छ । यस दिनलाई (ठूलो एकादशी) का रूपमा लिने प्रचलन रहेको छ । यही एकादशीका अवसरमा सेती नदी स्नान गरी पूजाआरधना गर्न भक्तजनको घुइँचो लागेको हो ।









प्रतिक्रिया