काठमाडौं, २८ बैसाख । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ । बैठक आज (मंगलबार) बस्ने स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।उनका अनुसार भर्चुअल रुपमा बस्ने बैठकको समय भने तय भइसकेको छैन । सोमबार संसदमा भएको मतदानमा अनुपस्थित भएको खनाल–नेपाल समूह भावी रणनीति तय गर्न छलफल गर्न लागेको हो उक्त समूहका २८ सांसद प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित भएका थिए । ओलीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ३० गतेसम्म बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छिन् । ‘समस्याको निकास त दिनैपर्छ । आज बैठक बसेर छलफल गर्छौ’, शाक्यले भनिन् ।
यता प्रधानमन्त्रीलाई विश्वासको मत दिन अनुपस्थित नेपाल–खनाल पक्षका सांसदलाई कारबाही हुने नेकपा एमालेले बताइसकेको छ । संसदबाट विश्वासको मत गुमाए पनि संसदको ठूलो दलको नाताले केपी शर्मा ओली फेरि पनि प्रधानमन्त्री बन्ने सम्भावना छ । तर नेपाल–खनाल समूहसँगको विवादका कारण ओलीलाई पनि अप्ठ्यारो छ ।








प्रतिक्रिया