सिरहा, २१ जेठ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुराना कम्युनिष्ट नेता विष्णुलाल वाइवाको निधन भएको छ।सिरहा निवासी ७८ वर्षीय वाइवाको कोरोना संक्रमणको कारण बिहीबार साँझ झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । वाइवा २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट सिरहाबाट सांसद निर्वाचित भएका थिए । तीन साताअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि झापा लगिएको थियो ।
आम्दा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको माओवादी केन्द्रका पोलिटव्युरो सदस्य विश्वनाथ साहले जानकारी दिएका छन् । एक साताअघि गरिएको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आए पनि फोक्सोको निमोनिया ठिक नहुँदा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।
नेता वाइवा तत्कालीन बामपन्थी नेता जयगोविन्द साहको प्रेरणाले सानै उमेरदेखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए । सादा जीवन विताउन चाहने वाइवा सिरहालाई कार्य क्षेत्र बनाएर वामन्थी राजनीतिमा क्रियाशील थिए । सिरहाको कर्जन्हा नगरपालिका बडहरा मिर्चैया निवासी वाइबाको आज बिहान कमला नदीमा दाहसंस्कार हुने नेता साहले जानकारी दिए ।
प्रतिक्रिया