दाङ २६ असार । दाङको घोराही उपमहानगरपालिकाले अपनाएको काइदाले हरेक घर पसललाई फाइदा पुगेको छ। उपमहानगरले घर घरबाट फोहर किन्न थालेपछि फाइदा भएको हो । एकातिर सफा सुग्घर बन्न सघाउने अर्काे तर्फ रकम पाइने यसलाई फाइदै फाइदा नभनेर के भन्ने ? गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो ।
गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पु¥याएको घोराही उपमहानगरपालिकाले जनाएको छ । फोहर सङ्कलनबारे केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले शुक्रवारदेखि नागरिकहरुको घरमै पुगेर फोहर खरिद गर्न थालेको छ ।
घोराही उपमहानगरपालिका वडा न १४ नयाँ बसपार्कबाट नगर प्रमुख नरुलाल चौधरी, सरसफाइ, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी, नगरका प्रवक्ता भरत अर्याल, शाखा प्रमुख लक्ष्मण अधिकारीको उपस्थितिमा फोहर किनेर अभियानको थालनी गर्नु भएको छ । उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई १० रुपैयाँ, कपडा प्रति किलो ५ रुपैयाँ, सूर्ती जन्य प्लाष्टिकको फोहर प्रति किलो २ रुपैयाँ, गत्ता, कापीसहित वर्गीकरण अनुसारका फोहरलाई १० देखि २० रुपैयाँ प्रति किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।
प्रतिक्रिया