काठमाठौं, १ साउन । नेकपा एमालेका नेता भीम रावलले आफूहरूका माग सम्बोधन नभएपछि स्थायी कमिटी र संसदीय दलको बैठक बहिष्कार गरिएको बताएका छन् । आफूहरूले छलफलका लागि बैठक स्थगित गर्न आग्रह गरेको तर पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुनुवाइ नगरेपछि बैठक बहिष्कार गर्नु परेको नेता रावलले बताएका छन् ।
स्थायी कमिटी सदस्य समेत रहेका कार्यदल सदस्यहरूले बैठक स्थगित गर्न र शीर्ष तहमा सहमति गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भए पनि ओलीले बैठक सञ्चालन गरेपछि आफूहरू बैठकमा सहभागी नभएको नेता रावलले बताएका छन् । ओलीका पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक थाती राख्न आग्रह गर्दा पनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उनले बताए ।
‘एकतालाई अगाडि बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरूले गम्भीर रूपमा सोच्नुहोस् । यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमति गरेर यो प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौं । हामीले यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौं भनेर आग्रह गर्यौं । तर पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडि बढाउनुस् भनेपछि हामीले भन्यौं, हामी बैठकस्थलबाट बाहिरियौंं’, रावलले भने । नेता रावलले आफूहरू पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमति गरे अनुरूप पार्टी बैठकहरू सञ्चालन गरिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया