बुटवल ८साउन । भाडामा संचालित मन्त्रालय स्थानान्तरणको तयारी तीव्र पारिएको छ। हुनत मध्य वर्खाको समय छ। धेरैजसो विकास निर्माणका काम यतिबेला रोकिएका छन् । तर लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल सहित प्रदेश सरकारका केही पदाधिकारीलाई भने जतिसक्दो बुटवलबाट राजधानी दाङको देउखुरी सार्ने काममा भ्याई नभ्याई छ।
बुटवलबाट राजधानी सार्नको लागि देउखुरीमा रातारात काम भइरहेको छ। असार २३ गते मौरीघाटका राप्ती प्राविधिक शिक्षालय परिसरमा ग्रामीण तथा शहरी विकास मन्त्रालय उद्घाटन भयो। मुख्यमन्त्री शंकर पोखरेलले भर्चुअल कार्यक्रमबाट काठमाडौबाटै मन्त्रालयको उद्घाटन गरे। छिट्टै अरु मन्त्रालय पनि सार्ने तयारी गरिरहेका छन् ।
मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, ग्रामीण तथा सहरी विकास मन्त्री हरिप्रसाद रिजाल र सभामुख पूर्णबहादुर घर्ती जतिसक्दो चाँडो स्थायी राजधानीमै मन्त्रालय र प्रदेशसभा लैजान कर्मचारीलाई निर्देशन दिइरहेका छन्। अब छिट्टै आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय देउखुरीमा सार्ने तयारी भइरहेको छ।
प्रतिक्रिया